कुराकानी। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदन आज पहिलो नम्बरमा पेसी चढेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त रिट सुनुवाइका लागि पेसी तोकिएको हो।
भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले गत असोज ७ गते बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। त्यसको भोलिपल्ट न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
विशेष अदालतको आदेशअनुसार हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भट्टलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिट दायर गरिएको हो।
अब सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त रिटमा के आदेश दिन्छ भन्ने चासो बढेको छ।