कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकमा अनुपस्थित भएका छन्।
बिहीबार सिंहदरबारमा बसेको उपसमितिको दोस्रो बैठकमा सुनार सहभागी नभएका हुन्। एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा प्रयोग र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि छानबिन गरिरहेको छ। छानबिन नसकिएसम्म उनलाई सार्वजनिक तथा औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको छ।
सांसद मनिष झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिदसम्बन्धी विषय अध्ययन गरिरहेको छ।
निर्वाचन प्रहरीको पोसाक खरिदका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो। खरिद प्रक्रियामा अनियमितता भएको र कमसल सामग्री उपलब्ध गराइएको भन्ने प्रश्न उठेपछि उपसमिति गठन गरिएको हो। सुनार स्वयंले पनि यस विषयमा निरन्तर प्रश्न उठाउँदै आएका थिए।
उपसमितिले प्राप्त उजुरी र प्रहरीबाट प्राप्त विवरण अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने कार्यविधि बनाएको छ।