कुराकानी। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी दुवै टोली आजको खेल जित्दै सिधै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्। पहिलो क्वालिफायरको विजेताले आगामी शनिबार हुने फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
लिग चरणमा लुम्बिनी ११ अंकसहित पहिलो स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। लुम्बिनीले सात खेलमध्ये पाँचमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। सुदूरपश्चिमले पाँच खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो।
दुवै टोली पछिल्ला खेलमा राम्रो लयमा देखिएका छन्। लुम्बिनीले पछिल्ला पाँच खेलमध्ये चारमा जित निकालेको छ। यता सुदूरपश्चिमले पनि पछिल्ला पाँच खेलमध्ये चारमा जित हात पारेको छ। सुदूरपश्चिमले लिग चरणका पछिल्ला चार खेल लगातार जितेको छ।
यी दुई टोलीबीचको पछिल्लो प्रतिस्पर्धामा भने लुम्बिनी हाबी हुँदै आएको छ। गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। जारी संस्करणको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। उक्त खेलमा सुदूरपश्चिम ८७ रनमै समेटिएको थियो।
यद्यपि, समग्र हेड टु हेड प्रतिस्पर्धामा भने दुवै टोलीले समान दुई–दुई खेल जितेका छन्।
लुम्बिनीका लागि डार्सी शर्ट, आसिफ शेख, कप्तान रोहित पौडेल र सन्दीप जोराको प्रदर्शन महत्वपूर्ण हुनेछ। बलिङतर्फ रुबेन ट्रम्पलम्यान, शेर मल्ल र किशोर महतोबाट टोलीले अपेक्षा गर्नेछ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी मुख्य खेलाडीका रूपमा रहनेछन्। जारी प्रतियोगितामा उनले १५० रन बनाउनुका साथै पाँच विकेटसमेत लिएका छन्। यस्तै, अनिल खरेल र स्कट कुगेलाइनको बलिङ प्रदर्शन पनि टोलीका लागि महत्वपूर्ण हुन सक्छ।
यस खेलमा विजयी हुने टोलीले नोभेम्बर २१ मा हुने फाइनलमा स्थान सुरक्षित गर्नेछ। पराजित टोलीले भने नोभेम्बर १९ मा हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि नोभेम्बर १८ मा हुने इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्। उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।