कुराकानी । कुनै समय उनी क्यामेराको अगाडि उभिन्थिन्। तर आज हजारौँ फिट माथि आकाशमा उड्छिन्।
कुनै समय नेपाली कलाकारिता क्षेत्रमा मोडलिङ गर्ने र म्युजिक भिडियोमा अभिनय गर्ने प्रिया अधिकारी अहिले भने फरक परिचयका कारण चर्चामा छिन्। अहिले कठिन भूगोलमा जीवन बचाउने उद्धार टोलीको एक मात्रै महिला पाइलट बनेर उभिएकी छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सुरु भएको उद्धार अभियानमा प्रियाको सक्रियतले नेपालमा मात्रै हैन अन्तराष्ट्रिय जगतमा चर्चा पाएको छ।
बाढीले बाटो बगाएको छ, बस्तीहरूलाई संकटमा पारेको छ र कतिपय ठाउँमा पुग्न जमिनको बाटो असम्भवजस्तै बनेको छ। यस्तो अवस्थामा आकाश नै उद्धारको बाटो बनेको छ । त्यही आकाशमा प्रिया आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी छन्।
तर प्रियाको यो यात्रा आजबाट सुरु भएको होइन, २० वर्षअघिबाट हो।
पाँच जना छोरी भएको परिवारमा हुर्किएकी प्रिया दिदीबहिनीहरूकै बीचमा हुर्किइन्। उनको परिवारमा पुरुष पात्रका रूपमा बुबा मात्रै थिए। यही वातावरणले नै उनलाई आफ्नै निर्णयमा उभिन, मेहनत गर्न र आफूलाई प्रमाणित गर्न सिकायो।
उड्डयन क्षेत्रमा प्रवेश गर्दा भने बाटो सजिलो थिएन। मानिसहरूलाई उनीमाथि विश्वास गर्न समय लाग्यो। तर उनले आलोचना वा अविश्वासलाई आफ्नो यात्राको अन्त्य बन्न दिइनन्। अनुशासन, निरन्तर मेहनत र सिक्ने इच्छालाई आफ्नो शक्ति बनाइरहिन्।
आज त्यही यात्राको परिणाम, आज उनि हेलिकप्टर उडाउँदै जीवन बचाउने प्रिया बनेकी छन्।
प्रियाका लागि यो उद्धार केवल एउटा जिम्मेवारी होइन। यो ती सबै छोरीहरूका लागि पनि हो, जसलाई आफ्ना सपनाको उचाइ नाप्न कसैले रोक्नु हुँदैन।
कुनै समय उनी क्यामेराको फ्रेममा थिइन्। आज उनी जीवन र मृत्युबीचको दूरी घटाउँदै आकाशमा उडिरहेकी छन्।