कुराकानी। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताका खेलहरू कर्णाली प्रदेशसँगै लुम्बिनी प्रदेशका बाँके र बर्दियाका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन्।
शुक्रबार सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट कराँतेका खेल हुँदैछन्। त्यस्तै, बाँकेको नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ।
खेल तालिकाअनुसार वीरेन्द्रनगरमा बिहान ९ बजेदेखि महिला क्रिकेट र महिला बास्केटबलका खेल सुरु हुनेछन्। महिला क्रिकेटको अर्को खेल दिउँसो १ः३० बजे हुनेछ। सुर्खेतको मुख्य रङ्गशालामा बिहान ९ बजेदेखि पुरुष फुटबलका खेल सञ्चालन हुनेछन् भने पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, सुर्खेतको मुख्य कभर्डहलमा बिहानैदेखि बक्सिङ र मिनी कभर्डहलमा जिम्न्यास्टिकका खेल हुनेछन्। ब्याडमिन्टन कभर्डहलमा बिहान ११ बजेदेखि फुल कन्ट्याक्ट कराँतेका प्रतिस्पर्धा सुरु हुनेछन्।
सुर्खेतबाहिर नेपालगञ्जमा बिहान ९ बजेदेखि पौडी प्रतियोगिता हुनेछ भने बर्दियामा टेनिसका खेल सञ्चालन हुनेछन्। पश्चिम रुकुमको चौरजहारीमा भने बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी छन्। प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ।