कला वर्ष समीक्षा

समुहवाद, पहिचानवाद र भाइरलवाद हाबी वर्ष

समुहवाद, पहिचानवाद र भाइरलवाद हाबी वर्ष

आम पाठकको शारिरीक र मानसिक स्वास्थ्य बबाल होस् । कुराकानी टीमको तर्फबाट धेरै शुभकामना ।

  • कुराकानी

  • शनिबार, बैशाख १, २०८१

  • 1.0K
    SHARES
समुहवाद, पहिचानवाद र भाइरलवाद हाबी वर्ष

कुराकानी । २०८१ साल अब सुरु भएको छ । नयाँ वर्षको आरम्भसँगै भर्खरै अवकाश पाएको वर्षको सामाजिक, आर्थिक र राजनितीक समीक्षाहरुमा मानिसहरु मग्न भएका छन् । साथमा २०८१ साललाई कसरी फलदायी बनाउने भन्ने योजना त हुने भइहाल्यो ।
यो लेखमा भने २०८० सालको समग्र कला क्षेत्र, यसका प्रगति र दुर्गतिको समीक्षा गरिएको छ ।

फिल्ममा समुहवादको दबदबा

समुहमा मिलेर काम गर्ने हो भने सफल भइने रहेछ भन्ने प्रमाणित गरेको वर्ष हो, २०८० साल । किनभने जतिपनि नेपाली फिल्मले व्यावसायिक सफलता हात पारे, सबैमा सामुहिकतामा काम भएको देखिन्छ ।

जारी देखि, छाक्कापञ्जा हुँदै महाजात्रासम्म । यी फिल्महरु समुहवादमा निर्माण भएका देखिन्छन् । कवि समेत रहेका उपेन्द्र सुब्बा निर्देशित फिल्म जारीमा रामबाबु गुरुङको समुह छ । यो समुहमा कलाकार समेत ७५ प्रतिशतसम्म एकै रहन्छन्, पर्दा पछाडी काम गर्नेहरु पनि धेरैजसो एकै अनुहारका रहने गर्छन् ।

छक्कापञ्जा श्रृंखलाको अवस्था पनि उहि नै हो । दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्ममा समुहवाद यतिसम्म हावी छ कि, उसको समुहबाट बाहिरिने भनेकै उधोंगतिको यात्रा सुरु हुने हो । केहि कलाकार समुहबाट बाहिरिने वित्तिकै यो कुरा सत्य सावित भइसकेको छ ।

सायद यहि समुहवादको सिको गर्दै अर्को एक समुह बनेको छ, षड्कोण । प्रदीप भट्टराई, रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीको समुहले जात्रा, जात्रैजात्रा, महापुरुष, डाकिनी हुँदै महाजात्रासम्मको यात्रा पार गरिसकेको छ । सबै व्यावसायिक हिसावमा सफल फिल्म दिएको यो समुह समय र परिवर्तनलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको देखिन्छ ।

त्यस्तै, अर्को समुह छ, दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत र दीपेन्द्र लामाहरुको । यो समुहले अन्यले जस्तो कम्पनी नै बनाएर काम नगरेपनि सहकार्य गरेको देखिन्छ । यो समुहले बनाएको फिल्म पशुपति प्रसाद २ भष्मे डन, दिमाग खराब, नाङ्गो गाउँ लगायतले अन्यले जस्तो भुक्का बन्न परेर, रामै कमाइ गरेको निर्माताहरुको ठोकुवा छ । त्यसो त, निर्माताकै कुरा मान्ने हो भने प्रकाश सपुतले डेब्यु गरेको फिल्म प्रदेशी २ ले पनि व्यावसायिक सफलता हात पार्न सफल भयो ।

यो वर्ष नेपाली फिल्ममा थपिएको पद भनेको स्कृप्ट डाक्टर हो । पहिलेदेखि नै स्कृप्टको मर्मत गर्दै आएका निर्देशक मनोज पण्डितलाई चलेका फिल्महरुको केहि प्रतिशत जस भने दिनैपर्छ । उनले स्कृप्ट डाक्टर बनेर काम गरेका फिल्मले प्रायः लगानी उठाए ।

यी बाहेक, संख्याको हिसावले २०८० सालसँग तुलना गर्ने हो भने नेपाली फिल्म निर्माणमा कमी आयो । चलचित्र विकास बोर्ड तथ्यांकअनुसार २०८० सालमा ५३ ओटा मात्रै नेपाली फिल्महरु प्रर्दशनमा आएका छन् ।

नाटक पहिचानवादको कब्जामा

यो वर्ष नाटकघरहरु पनि सक्रिय रुपमा दर्शक आकर्षित गर्न सफल भए । हिसाब गर्ने हो भने, नेपाली फिल्मले भन्दा नाटकले यो वर्ष आर्थिक फाइदा कमाउन सफल भयो ।

त्यसरी नाफा कमाउनेमा अधिकांश नाटक पुर्वेली नाट्य समुह र पहिचानवादीको पोल्टामा गयो । यसले कलाचेत अझै एकै भुगोलमा, एकै पहिचानमा र एकै समुदायमा खुम्चिरहेको छ, फैलन सकेको छैन भन्ने प्रमाणित गर्छ । कथित उपल्लो जातमा कलाचेतको अवस्था न्युन रहेछ भन्ने नाटकघरमा मञ्चन भएका नाटकहरुबाट मापन गर्न सकिन्छ ।

राजन मुकारुङको मदन पुरस्कार बिजेता पुस्तक दमिनी भीरको नाट्य रुपान्तरण दमिनी भीर, कवि राजु स्याङतान समुहको नाटक मासिन्या, चेतन आङथुपोको नाटक झोडा, जेडी तमुको निर्देशनमा बनेको ब्युँझिएको सिरानी, लगायतलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । यी नाटकहरुमा दर्शकको ओइरो लागेको थियो ।

यी बाहेक, घिमिरे युवराजको निर्देशनमा बनेको नाटक ट्रान्जिट र हिउँको पृथ्वी यात्राले पनि दर्शक आकर्षित गर्नसक्यो ।

अन्य नाटकघरमा निकै आकर्षक र कलात्मक नाटकहरु गएको वर्ष मञ्चन भए । नाटकघरभरी खचाखच दर्शक अनि यसले निम्त्याएको चहलपहल हेर्दा नाटकले अबको वर्षमा फिल्मलाई जित्ने सम्भावना छ । यो सम्भावनालाई जोड दिन्छ, अधिकांश फिल्ममा चलेका कलाकारहरु नाटक पृष्ठभूमिबाट गएकाले । यसले नाटकमा अभिनय गरे फिल्ममा सफल भइन्छ भन्ने भाष्य निर्माण भएको देखिन्छ ।

गीत सङ्गीत भाइरलवादमा हराए

गएको वर्ष गीत सङ्गीत भाइरल कलाकारहरुले धानिदिए । सामाजिक सञ्जालमा भाइरल भएका मानिसलाई समाउँदै गायक गायिका बनाउँदैमा वर्ष बित्यो । जसले गर्दा गज्जबमा गीत बने भन्ने भएन । अरेली काँडैले च्वास्स च्वास, धोकेवाज हौ तिमी, कट्टा हान्दिन्छु जस्ता गीतहरुले सामाजिक सञ्जाल रंगिए ।

केहि गीतहरु आए, जस्तै सकम्बरी, पिरै पिरमा छ, रिमै आदि आदि । तिनीहरु प्नि कालजयी बन्न सकेनन् । बरु फिल्मका गीतहरु भने केहि समयसम्म मानिसहरुको दिमागमा रहन सफल भयो ।

विविध

फिल्म, नाटक र गीत सङ्गीत बाहेक ललितकला अन्तर्गतका कलाहरुले २०८० सालमा अन्य वर्षको तुलनामा प्रगतिको बाटोतिर लम्किएको देख्न सकिन्छ ।

गएको बर्ष काठमाडौं महानगरले पनि पुरातत्वको क्षेत्रमा निकै महत्वपुर्ण काम गर्यो । हराएका ढुङ्गेधारा खोज्नेदेखि, फल्चा निर्माणसम्मका कलात्मक कामहरु मेयर बालेन साहको नेतृत्वमा रह्यो ।

काठमाडौंले गत वर्ष ललितकला प्रज्ञा प्रतिष्ठानसँग मिलेर अन्य वर्षको तुलनामा धेरै काम गरेको छ । छनोटमा परेका सामुदायीक विद्यालयमा ललितकलासँग मिलेर बालबालिकालाई हस्तकलादेखि सिपमुलक तालिम दिने काम महानगरले गरेको देखिन्छ ।

विद्यालय तहबाटै बालबालिकामा कलाचेत पुर्याउने उद्देश्यले गरेको यो कार्य बाहेक ललितकला स्वयंले पनि यो बर्ष बिभिन्न कला प्रर्दशनीको काम गरेको छ ।

यसरी हेर्ने हो भनेपनि ललितकलाका क्षेत्रमा काठमाडौंमा बालेनवाद हावी देखिन्छ । स्थानिय सरकार निर्माण भएपछि २०८० सालमा केहि चोएिकामा मुर्ति फिर्ता पनि आएका छन् । विभिन्न समयमा चोरिएका १३७ मुर्ति फिर्ता ल्याउने पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको कदम पुरा नभएपनि सोच आउनु ठुलो कुरा हो ।

समग्रमा, कला क्षेत्रका जतिपनि गतिविधीहरु भए, त्यसले आम मानिसको ध्यान खिच्न सफल भयो, २०८० सालमा । अब २०८१ सालले अझै कलाचेतको दायरा फराकिलो बनाओस्, कला सफ्ट पोलिटिकल पावर हो भन्ने कुरा बुझ्न सम्वन्धित निकायले ढिला नगरोस् । जीवन जिउने कलाबिना, मानिस नीरस बन्दछ । यो कला सबैले सिकुन्, आम पाठकको शारिरीक र मानसिक स्वास्थ्य बबाल होस् । कुराकानी टीमको तर्फबाट धेरै शुभकामना ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology