कुराकानी । काठमाडौंमा हुने २३औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) जेठको १३ देखि १७ गतेसम्म ठमेलको क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना हुने भएको छ ।
महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । यसमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो फिल्म र साहसिक कथामा आधारित चलचित्र समावेश छन् ।
नेपाल पानोरमा अन्तर्गत नेपाली समाज,गाउँघर र स्थानीय जीवनका कथामा आधारित फिल्महरू देखाइनेछन् । महोत्सव निर्देशक राम्यता लिम्बुले यस वर्षका फिल्महरूले मनोरञ्जनसँगै समाजका समसामयिक विषयमा बहस र संवाद पनि सिर्जना गर्ने बताएकी छन् ।
महोत्सवको उद्घाटन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राईको फिल्म ‘शेप अफ मोमो’ को नेपाल प्रिमियरबाट हुनेछ । फिल्मले शहरको जागिर छोडेर हिमाली गाउँ फर्किएकी विष्णु पात्रको संघर्ष र पहिचानको कथा देखाउँछ ।
नेपाल–स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा “अल्पाइन एलायन्स : नयाँ नेपाली सिनेमाको लहर” शीर्षकमा विशेष संवाद कार्यक्रम पनि हुनेछ । कार्यक्रममा स्वीस फिल्म ल्याबसँग काम गरेका तथा अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी नेपाली फिल्मकर्मी सहभागी हुनेछन् ।
त्यस्तै “ह्वाट्स इन अ स्टोरी : सिनेमा एन्ड सेन्सरशिप” शीर्षकमा फिल्म र सेन्सरसम्बन्धी छलफल आयोजना गरिनेछ । नेपाल–जापान सम्बन्धको ७० वर्षको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जीको ‘क्लाइम्बिङ फर लाइफ’ पनि विशेष प्रदर्शन गरिनेछ । यो फिल्म सगरमाथा चढ्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ ।
किम्फ २०२६ को अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारत, थाइल्याण्ड, नेपाल र इटालीका फिल्म तथा साहित्य क्षेत्रका व्यक्तिहरू रहेका छन् ।
महोत्सवमा उत्कृष्ट फिचर फिक्सन, वृत्तचित्र, छोटो फिक्सन र छोटो वृत्तचित्रलाई पुरस्कार प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय विधाका विजेताले १ हजारदेखि १५ सय अमेरिकी डलरसम्म पुरस्कार पाउनेछन् । नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट नेपाली फिक्सन र वृत्तचित्रलाई जनही १ लाख रुपैयाँ दिइनेछ । दर्शक पुरस्कार पनि १ लाख रुपैयाँकै रहेको छ ।
यस वर्ष किम्फले काठमाडौं डकल्याबको दोस्रो संस्करण पनि आयोजना गर्दैछ । दक्षिण एसियाका युवा प्रतिभालाई प्रोत्साहन गर्न पाकिस्तान, भुटान र भारतका फिल्मकर्मीहरूले ९ वटा परियोजनालाई मार्गदर्शन गर्नेछन् ।
यसका साथै छोटो फिल्म ल्याब, स्क्रिप्ट पिचिङ फोरम, युवा फिल्मकर्मीका लागि “आशा : ड्रीम्स इन मोसन” कार्यक्रम तथा “हर क्लाइमेट स्टोरी” शीर्षकका विशेष कार्यक्रम पनि आयोजना गरिनेछन् ।
किम्फ फाउन्डेसनले आयोजना गर्ने यो महोत्सव अन्तर्राष्ट्रिय पर्वतीय फिल्म सञ्जालसँग पनि आबद्ध छ ।
महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको छ ।