कुराकानी । फुटबलको मक्का मानिने ब्राजिलका लागि आजको रात कुनै दुःस्वप्नभन्दा कम रहेन। अमेरिकाको न्यु योर्क, न्यु जर्सी स्टेडियममा भएको फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोलले पाखा लगाउँदै ‘नर्डिक जायन्ट’ नर्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ।
यो केवल जित मात्र होइन, नर्वेका लागि एउटा महागाथा हो। चौथो पटक विश्वकप खेलिरहेको नर्वेले पहिलो पटक क्वाटरफाइनलको यात्रा तय गर्दै इतिहासको पानामा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएको हो।
यता, ३६ वर्षपछि पहिलो पटक अन्तिम १६ बाटै बाहिरिन बाध्य भएको ब्राजिलका लागि भने यो विश्वकप ठूलो पीडा बनेको छ।
हालान्डको ‘किलर इन्स्टिङ्क्ट’
खेलको अधिकांश समय गोलरहित बराबरीतिर धकेलिँदै गर्दा एर्लिङ हालान्डले आफ्नो ‘गोला बारुद’ निकाले। ७९औं मिनेटमा आन्द्रेस सेलड्रुपको सुन्दर पासलाई सदुपयोग गर्दै हालान्डले नर्वेका लागि खाता खोले। त्यसको ठीक ११ मिनेटपछि ९०औं मिनेटमा फेरि उनै सेलड्रुपको क्रसमा सानदार हेड गोल गर्दै हालान्डले नर्वेलाई २-० को अग्रता दिलाए।
इन्जुरी समयमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन। यो पेनाल्टी ब्राजिल र उनका फ्यानका लागि नर्वेको तर्फबाट सहानुभुति जस्तो अनुभव भयो । किनभने जुनियर नेयरमारको यो अन्तिम विश्वकप खेल हो ।
ब्राजिलका लागि ‘पेनाल्टी’ बन्यो अभिसाप
खेलको १४औं मिनेटमा ब्राजिलले पेनाल्टीको सुनौलो अवसर पाएको थियो। तर, ब्रुनो गुमाइरेजको प्रहारलाई नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले रोकेपछि ब्राजिलको मनोबल खस्कियो। रोचक कुरा के छ भने, सन् १९८६ मा जिकोले फ्रान्सविरुद्ध पेनाल्टी मिस गरेयता विश्वकपमा पेनाल्टी खेर फाल्ने ब्रुनो ब्राजिलका पहिलो खेलाडी बनेका छन्। त्यस्तै, दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्ड्रिकको ‘वान भर्सेस वान’ अवसर पनि खेर जाँदा ब्राजिलले निकै महँगो मूल्य चुकाउनु पर्यो।
हालान्ड गोल्डेन बुटको दाबेदार
पहिलोपटक विश्वकप खेलेका हालान्ड यो पटक मेसी र एमबाप्पेसँगै गोल्डेनबुटको दौडमा छन् । ब्राजिल बिरुद्ध २ गोल गरेका उनले यसै खेलसँगै ७ गोल गरेका छन् ।
यस रोमाञ्चक खेलपछि नर्वेले अब क्वाटरफाइनलमा कुन टोलीको सामना गर्ला भन्नेमा तपाईँ के सोच्नुहुन्छ, इंग्ल्यान्ड कि मेक्सिको?