कुराकानी। सातवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले बिहीबार मन्त्रालयमा आयोजित एक समारोहबीच नवनियुक्त उपकुलपतिहरूलाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालचन्द्र शाहले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट आजै उहाँहरूलाई उपकुलपति पदमा नियुक्त गर्नुभएको थियो ।
शपथ लिने उपकुलपतिहरूमा प्रा.डा. भोला थापा (त्रिभुवन विश्वविद्यालय), किसन दत्त भट्ट (सुदूरपश्चिम विश्वविद्यालय) र राजन सुवाल (मध्यपश्चिम विश्वविद्यालय) हुनुहुन्छ । यसै गरी ऋषिराम कट्टेल (कृषि तथा वन विश्वविद्यालय), श्यामनारायण लाभ (राजर्षि जनक विश्वविद्यालय), देवेन्द्र अधिकारी (पोखरा विश्वविद्यालय) र सुजन बाबु मरहट्टा (पूर्वाञ्चल विश्वविद्यालय) ले पनि उपकुलपति पदको शपथ लिनुभएको छ ।
शपथ ग्रहण समारोहमा बोल्दै शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयको कार्यसम्पादनलाई निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी बनाउन निर्देशन दिनुभयो । कसैको दबाबमा नपरी आफ्नो कार्यकालमा इतिहास बनाउने गरी काम गर्न आग्रह गर्दै उहाँले यसमा सरकार र मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी रूपमा अनिवार्य गराउन तथा क्याम्पस परिसरबाट राजनीतिक दलका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन समेत कडा निर्देशन दिनुभएको छ ।
समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरण राज शर्माले नवनियुक्त उपकुलपतिहरूबाट मुलुकको शिक्षा क्षेत्रको समग्र सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमा कायम राख्दै निर्भीकता र इमानदारिताका साथ काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाको माध्यमबाट उपकुलपति छनोट गरेकाले आफूहरूको मनोबल उच्च रहेको उनीहरूको भनाइ थियो ।
उपकुलपतिको नाम सिफारिसका लागि शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले विज्ञहरूको नेतृत्वमा उपसमिति बनाएर खुला प्रतिस्पर्धा गराई यो छनोट प्रक्रिया टुङ्ग्याएको हो ।