कुराकानी । कल्पना गर्नुस्, तपाईं सडकमा हिँडिरहनुभएको छ। अचानक एउटा रातो खाम भेट्नुहुन्छ। कतै पैसा पो छ कि त्यो रातो खाममा ?
तपाईं त्यो खाम उठाउनुहुन्छ। तर व्याड लक भन्ने कि गुड लक, त्यो खाम उठाएबापत् तपाइले कम्पोल्सरी एक अपरिचितसँग बिहे गर्नुपर्ने हुन्छ ।
त्यो अपरिचित को हो थाहा छ ? भुत !
अझ ट्विस्ट के छ भने, त्यो भूत तपाईंले कल्पना गरेजस्तो सुन्दर अपोजिट सेक्सको मानिस हैन । तपाईँकै सेक्सको मानिस हो ।
सुन्नमा एकदमै पागलपन लाग्ने यो कथा सन् २०२५ मा रिलिज भएको थाई बीएल अर्थात व्वाइज् लभ अर्थात पुरुष पुरुष बीचको प्रेम सम्बन्धमा आधारित फिल्म ‘द रेड एनभलप’ को हो। फिल्म बबाल रमाइलो र इन्ट्रे्स्टिङ् छ ।
यो केवल भूतसँगको बिहेको कथा होइन। यो एउटा मर्डर मिस्ट्री हो। पूर्वाग्रह र स्वीकार्यताको कथा हो। र यो यस्तो मित्रताको कथा हो, जसले जीवन र मृत्युको सीमासमेत पार गर्छ।
कथाको मुख्य पात्र हो मीन।
ऊ कुनै हिरो टाइपको मान्छे होइन। सानो–तिनो अपराध गर्दै हिँडिरहने युवक हो। तर पछि पुलिसको सुराकी बनेर राम्रो जीवन बिताउने प्रयास गरिरहेको हुन्छ।
एक दिन उसले सडकमा एउटा रातो खाम भेट्छ।
सामान्य खाम जस्तो देखिने त्यो खाम वास्तवमा एउटा पुरानो धार्मिक परम्परासँग जोडिएको हुन्छ। थाइल्याण्ड र चिनियाँ संस्कृतिका केही समुदायमा मृत व्यक्तिको आत्मालाई शान्ति दिन “घोस्ट म्यारिज” गराइने चलन हुन्छ। यो खाम त्यहि घोस्ट म्यारिजका लागि आत्मा मिलाउन गरिएको प्रपन्च थियो जसमा
मिन फस्छ । किनकी उसको आत्मा कुनै मृत आत्मासँग गाँसिइसकेको हुन्छ ।
त्यो आत्मा टीटी नामको युवक हो। हो, एउटा पुरुष भूत।
मीन सीधा स्वभावको केटा हो। त्यसैले उसलाई यो परिस्थिति स्वीकार गर्न निकै गाह्रो हुन्छ। ऊ टीटी बाट छुटकारा पाउन खोज्छ। तर टीटी पनि त्यति सजिलै छोड्ने पक्षमा हुँदैन। किनकि उसको आत्माले शान्ति पाएको छैन।
आखिर टीटीको आत्माले किन शान्ति पाइरहेको छैन होला? थाहा पाउन, हेर्ने हैन त फिल्म ‘द रेड एनभलप’?
टीटीले मीनसँग एउटा सम्झौता गर्छ। “यदि तिमीले मेरो मृत्युको सत्य पत्ता लगाइदियौ भने म शान्तिसँग यो संसार छोडिदिन्छु।” मीन सँग अर्को विकल्प हुँदैन। ऊ टीटी सँग मिलेर अनुसन्धान गर्न थाल्छ।
फिल्मको सबैभन्दा रमाइलो भनेकै मीन र टीटी एकअर्काका बिल्कुलै विपरीत पात्र हुन्। मीन रिसाहा, हठी र अलि पूर्वाग्रही छ। टीटी भने खुला सोच भएको, रमाइलो र संवेदनशील व्यक्ति हो।
सुरुमा उनीहरू सधैं झगडा गर्छन्। टीटीले मीनलाई जिस्क्याइरहन्छ। टीटीले यति रमाइला हर्कत गरिदिन्छ कि कुरै छाडौं । मीन भने भूतबाट छुटकारा पाउन अनेक उपाय खोजिरहन्छ।
यही क्रममा फिल्ममा धेरै हास्यास्पद दृश्यहरू आउँछन्। तर बिस्तारै उनीहरूको सम्बन्ध बदलिन थाल्छ। दुवैले एकअर्कालाई बुझ्न थाल्छन्।
अनुसन्धान गर्दै जाँदा टीटीको यही केसमा मीनको क्रस अर्थात् महिला प्रहरी गोइ पनि अनुसन्धान गरिरहेकी हुन्छिन्। मीनले सोच्छ, यदि यो केस समाधान गर्न सकियो भने टीटीलाई पनि सहयोग हुन्छ र आफ्नो करियर पनि चम्किन्छ। यसपछि कथा कमेडीबाट एक्सन र मिस्ट्रीतर्फ मोडिन्छ।
‘द रेड एनभलप’ केवल भूतको कथा होइन। फिल्मले एलजीबीटीक्यूआईए प्लस प्लस समुदायका मानिसहरूले भोग्ने कठिनाइ पनि देखाउँछ। टीटी समलिंगी पुरुष अर्थात गे थियो। उसले जीवनभर आफूलाई स्वीकार गराउन संघर्ष गर्नुपरेको थियो। एक सिनले उसको स्वभाव देखाउँछ ।
उसको बुबाले छोराले खेल्ने खेलौना भनेर रोबोर्ट ल्याइदिएको हुन्छ । तर उसलाई डल मनपर्छ । त्यसैले उसले पुरै रोबोर्टलाई नै केटीको कपडाहरु लगाइदिएर डल बनाईदिन्छ ।
मृत्युपछि पनि उसको सबैभन्दा ठूलो चाहना भनेको आफू जस्तो छ, त्यसै रूपमा स्वीकार गरिनु थियो। मीन पनि सुरुमा धेरै पूर्वाग्रह बोकेर बसेको व्यक्ति हुन्छ। तर टीटीसँग समय बिताउँदै जाँदा उसको सोच बदलिन्छ।
उसले बुझ्छ कि मानिसको मूल्य उसको सेक्स्वालिटीले होइन, उसको व्यवहार र हृदयले निर्धारण गर्छ। यही परिवर्तन फिल्मको सबैभन्दा शक्तिशाली पक्ष हो।
कथाको अन्त्यमा मीन र टीटी ले मृत्युको रहस्य सुल्झाउँछन्। दोषीहरू सार्वजनिक हुन्छन्। सत्य बाहिर आउँछ। र टीटीको आत्माले वर्षौंदेखि खोजिरहेको उत्तर पाउँछ।
अब उसको आत्मा अघि बढ्न तयार हुन्छ। तर यस यात्रामा मीन र टीटीबीच गहिरो मित्रता बनिसकेको हुन्छ। सुरुमा एकअर्कालाई सहन नसक्ने यी दुई पात्र अन्त्यसम्म आइपुग्दा एकअर्काको जीवन बदल्ने साथी बनिसकेका हुन्छन्।
त्यसैले अन्तिम बिदाइ निकै भावुक बन्छ। धेरै दर्शक यही दृश्यमा रोएका छन्।
‘द रेड एनभलप’ ले हामीलाई तीनवटा महत्वपूर्ण कुरा सिकाउँछ।
पहिलो, मानिसलाई उसको पहिचानका आधारमा होइन, उसको व्यक्तित्वका आधारमा हेर्नुपर्छ।
दोस्रो, जीवन छोटो छ। त्यसैले आफूले माया गर्ने मानिसलाई माया व्यक्त गर्न ढिला गर्नु हुँदैन।
तेस्रो, कहिलेकाहीँ सबैभन्दा अनौठो सम्बन्धहरूले नै हाम्रो जीवन बदलिदिन्छन्।
यदि तपाईंले यो फिल्म हेरिसक्नुभएको छ भने कमेन्टमा आफ्नो अनुभव लेख्न नबिर्सनुहोस्।
केहि समयअघि नेपालमै थाई फिल्म फेस्टिभल भएको थियो । त्यहाँ प्रर्दशन गरिएको फिल्ममा एक यो फिल्म पनि थियो । प्राइड मन्थ पनि चलिरहेको छ अनि सजिलै नेटफिल्क्समा उपलब्ध हुन्छ भने यो फिल्म किन नहेर्ने, हैन त ?