कुराकानी । नेपाली चलचित्र क्षेत्रमा, वर्षभरि बनेका फिल्म र कलाकारको कामको मूल्यांकन गरेर चलचित्र समीक्षक समाज (फिक्सन) ले २ बर्षको ‘क्रिटिक्स फिल्म अवार्ड’ एकैपटक बाँड्यो।
दर्शकको ताली र बक्स अफिसको सफलताभन्दा फरक, समीक्षकहरूको नजरबाट उत्कृष्ट ठहरिएका फिल्मलाई यस संस्थाले अर्वाड दिने गरेको छ।
शनिबार एक विशेष कार्यक्रम गर्दै समाजले २०८१ र २०८२ सालका ‘क्रिटिक्स फिल्म अवार्ड’ एकैसाथ वितरण गर्यो। समारोहमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यदेखि निर्देशक नवीन सुब्बासम्मका व्यक्तित्वले अवार्ड हस्तान्तरण गरेका थिए।
२०८१ सालको समीक्षकीय मूल्यांकनमा ‘शाम्बाला’ सबैभन्दा प्रभावशाली फिल्मका रूपमा उदायो। उत्कृष्ट फिल्मको अवार्ड जितेको ‘शाम्बाला’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको सम्मान समेत आफ्नो नाममा पार्यो।
निर्देशक मीनबहादुर भामले उत्कृष्ट निर्देशनको अवार्ड प्राप्त गर्दा अभिनेत्री थिन्ले ल्हामोले आफ्नो स्वाभाविक अभिनयका कारण उत्कृष्ट अभिनेत्रीको सम्मान हात पारिन्।

उत्कृष्ट अभिनेताको अवार्ड भने ‘गाउँ आएको बाटो’का दयाहाङ राईले जिते। नेपाली सिनेमामा निरन्तर सशक्त अभिनय प्रस्तुत गर्दै आएका दयाहाङले फेरि एकपटक समीक्षकहरूको मन जित्न सफल भए।

त्यस्तै ‘सानो संसार’का सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी उत्कृष्ट पटकथा लेखक घोषित भए भने ‘आँखा’का आलोक शुक्लाले उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरे।
प्राविधिक पक्षतर्फ ‘राजागञ्ज’का जे. हिम ली र एलेक्स गुर्भिट्स उत्कृष्ट सम्पादक घोषित भए। ‘गाउँ आएको बाटो’का किशोर आचार्यले उत्कृष्ट साउण्ड डिजाइनको सम्मान पाए।
विशेष सम्मानअन्तर्गत ‘बोक्सीको घर’की सुपला सापकोटा अभिनयका लागि र ‘पूर्ण बहादुरको सारङ्गी’का रोशन दिवाना कला निर्देशनका लागि सम्मानित भए।

यता २०८२ सालको अवार्डमा भने ‘ऊनको स्वीटर’को वर्चस्व देखियो। उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा र उत्कृष्ट पाश्र्व संगीत गरी चार विधामा अवार्ड जित्दै यो फिल्म समीक्षकहरूको रोजाइमा पर्न सफल भयो।
निर्देशक नवीन चौहानले उत्कृष्ट निर्देशकको सम्मान प्राप्त गर्दा सुरज कटुवालसँग मिलेर लेखेको पटकथाले पनि अवार्ड जित्यो। कोविद बज्रले यही फिल्मका लागि उत्कृष्ट पाश्र्व संगीतको अवार्ड हात पारे।

अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता घोषित भए। लामो समयदेखि हास्य अभिनयमार्फत परिचित हरिवंशले यसपटक गम्भीर भूमिकाबाट समीक्षकहरूको प्रशंसा बटुले।

‘रमिताको पिरती’की आना शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। ‘भूठान’ले उत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधामा पनि सफलता हासिल गर्यो।

क्रिटिक्स फिल्म अवार्डले यसपटक पनि नेपाली सिनेमामा विषयवस्तु, प्रस्तुति र कलात्मकताको नयाँ उचाइ खोज्ने प्रयासलाई सम्मान गरेको देखिन्छ।
व्यावसायिक सफलताभन्दा बाहिर रहेर सिर्जनात्मक र प्राविधिक उत्कृष्टतालाई प्राथमिकता दिने यो अवार्डले नेपाली चलचित्र उद्योगलाई अझ गुणस्तरीय बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।