कुराकानी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा जारी तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यु आदेशको उल्लंघन गर्दै स्थानीयको प्रदर्शन र सुरक्षा चुनौती बढेपछि प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै नेपाली सेनालाई समेत परिचालन गरेको हो।
आइतबार राति दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य नभएपछि सुरक्षा निकायले संवेदनशील क्षेत्रहरूमा संयुक्त गस्ती बढाएका छन्। प्रदर्शनकारीले कर्फ्यु उल्लंघन गर्दै सडकमा निस्किन थालेपछि सुरक्षाको तेस्रो घेराका रूपमा सेना परिचालन गरिएको जनाइएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै प्रमुख चोक, बजार क्षेत्र र संवेदनशील स्थानमा निगरानी तथा गस्ती गरिरहेको छ। प्रशासनले स्थानीयलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै अफवाहमा विश्वास नगर्न पनि अपिल गरेको छ।
यसअघि भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसयता जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी छ भने अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले घटनाको छानबिनका लागि समिति गठन गरिसकेको छ र उच्चस्तरीय सुरक्षा संयन्त्रले अवस्थाको निरन्तर समीक्षा गरिरहेको छ।
प्रशासनले हाल स्थिति नियन्त्रणमा रहेको जनाएको भए पनि कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता उच्च बनाइएको छ। स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरिएको छ।