कुराकानी। कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपको विरोधमा सिराहामा प्रदर्शन चर्किएको छ। आन्दोलनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
सिराहाका विभिन्न स्थानबाट भेला भएका प्रदर्शनकारीहरूले सरकार घटनाप्रति गम्भीर नभएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र साम्प्रदायिक हिंसा रोक्न प्रभावकारी कदम चाल्न माग गरेका छन्। आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ र सयौं यात्रु तथा मालवाहक सवारी बीच बाटोमै रोकिएका छन्।
प्रदर्शनस्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा निकायले प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गर्दै राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ।
यसअघि सुनसरीको कप्तानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि प्रभावित क्षेत्रमा कर्फ्यु लागू गरिएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सोही घटनाको विरोध अहिले मधेशका अन्य जिल्लासम्म फैलिन थालेको देखिएको छ।