आठ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज जर्मनीबाट नेपाल फिर्ता

आठ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज जर्मनीबाट नेपाल फिर्ता

रिन्डफ्लाइसको सङ्ग्रहलाई वाल्टर रिन्डफ्लाइस कलेक्सन का रूपमा पनि चिनिन्छ।

  • कुराकानी

  • शुक्रबार, अशोज १६, २०८३

  • 12
    SHARES
आठ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज जर्मनीबाट नेपाल फिर्ता

कुराकानी। जर्मनीमा निजी सङ्ग्रहका रूपमा राखिएका आठ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता ल्याइएको छ। १३औँदेखि २०औँ शताब्दीसम्मका ती दस्तावेज शुक्रबार राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो।

जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक डा. एक्सेल माइकल्स तथा डा. मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्।

रिन्डफ्लाइसको सङ्ग्रहलाई वाल्टर रिन्डफ्लाइस कलेक्सन का रूपमा पनि चिनिन्छ। यसमा ४६५ वटा ताडपत्र, ३१७ वटा कागजी दस्तावेज तथा २६ वटा हस्तलिखित ग्रन्थ र अन्य सामग्री समावेश छन्। ताडपत्रमध्ये केही १३औँ शताब्दीसम्मका छन्।

सङ्ग्रहमा रहेका ताडपत्रहरू मुख्यतः मल्लकालीन कानुनी लिखत हुन्। तीमध्ये जग्गा किनबेच, ऋण, सम्पत्ति हस्तान्तरण तथा अन्य आर्थिक र कानुनी कारोबारसम्बन्धी विवरण छन्। त्यस्तै, शाह र राणाकालीन राजकीय आदेश, लालमोहर, अदालतका अभिलेख, संस्कृतका ग्रन्थ, यात्रा डायरी तथा ऐतिहासिक पत्राचार पनि सङ्ग्रहमा छन्।

हाइडेलबर्ग विश्वविद्यालयका अनुसार नेपालका यी ऐतिहासिक सामग्री लामो समयसम्म संरक्षणको चुनौतीमा थिए। कतिपय ताडपत्र ढुसी, कीराको क्षति तथा पुराना मर्मतका कारण कमजोर अवस्थामा पुगेका थिए। विश्वविद्यालयका विज्ञहरूले सन् २०२२ र २०२३ मा तिनको संरक्षण तथा पुनर्स्थापनाको काम गरेका थिए। त्यसपछि विश्वविद्यालयको पुस्तकालयमा दस्तावेजहरूको डिजिटल प्रतिलिपि तयार पार्नुका साथै वैज्ञानिक रूपमा सूचीकरण गरिएको थियो।

परराष्ट्रमन्त्री खनालले दस्तावेज फिर्तीलाई नेपालको लिखित सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा र प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले यी सामग्रीले नेपालको राजनीतिक, कानुनी, धार्मिक र बौद्धिक विकासक्रम बुझ्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

दस्तावेज स्वदेश फिर्ता गराउन सहयोग गर्ने जर्मन सरकार, नेपाली राजदूतावास, हाइडेलबर्ग विश्वविद्यालय, हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिज, सराफ फाउन्डेसन तथा राष्ट्रिय अभिलेखालयप्रति पनि मन्त्री खनालले आभार व्यक्त गरे।

यसअघि सङ्ग्रहका मूल सामग्रीको स्वदेश फिर्ती गर्ने इच्छा स्वर्गीय जोसेफ पिटर रिन्डफ्लाइसले व्यक्त गरेका थिए। उनका छोरा वाल्टर रिन्डफ्लाइसले पनि उक्त इच्छालाई निरन्तरता दिँदै सङ्ग्रह प्राध्यापक माइकल्सलाई हस्तान्तरण गरेका थिए। त्यसपछि अनुसन्धान, संरक्षण र सूचीकरणको काम पूरा गरी नेपाललाई फिर्ता गरिएको हो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology