कुराकानी। कुनै समय मधेसका सिनेमा हलहरूमा भोजपुरी संवाद गुञ्जिन्थे। पर्दामा भोजपुरी भाषा बोल्ने पात्र, आफ्नै समाजका कथा र स्थानीय परिवेशमा कलाकार देख्दा दर्शकहरू उत्साहित भएर हलसम्म पुग्थे। भोजपुरी चलचित्रको बजार मधेसमा मात्र सीमित थिएन; काठमाडौं उपत्यकाका केही सिनेमा हलहरूमा समेत भोजपुरी फिल्म लाग्ने गर्थे। उदाहरणका लागि, २०७९ मा प्रदर्शन भएको ‘रण’ ले काठमाडौंसहित देशभरका ४० भन्दा बढी हलहरूमा स्थान पाउँदै भोजपुरी सिनेमाको बजार मधेसबाहिर पनि विस्तार गर्न सकिने ठूलो सम्भावना देखाएको थियो।
तर, आज त्यो दृश्य पूर्ण रूपमा बदलिएको छ। यस मोडमा एउटा गम्भीर प्रश्न खडा हुन्छ। के भोजपुरी चलचित्रको बजार साँच्चिकै हराएकै हो? कि बजार उही छ, तर दर्शकको रुचि र चलचित्र हेर्ने माध्यम बदलिएको हो?
बदलिँदो प्रविधि र दर्शकको रोजाइ
बजार पूर्ण रूपमा समाप्त भएको प्रमाणित गर्ने कुनै आधिकारिक र तुलनायोग्य तथ्याङ्क छैन। त्यसैले बजार ‘सकियो’ भन्नुभन्दा यसको स्वरूप बदलिएको मान्नु उपयुक्त हुन्छ।
आज दर्शक हराएका होइनन्, उनीहरूले मनोरञ्जन लिने माध्यम बदलिएको हो। स्मार्टफोन, इन्टरनेट र डिजिटल प्लेटफर्मको तीव्र विस्तारले गर्दा नेपाली दर्शकमाझ हिन्दी, नेपाली, दक्षिण भारतीय, कोरियन र अन्य अन्तर्राष्ट्रिय चलचित्रहरूको सहज पहुँच पुगेको छ। हलसम्म पुग्नुको सट्टा घरमै बसेर मोबाइलमै विविध सामग्री हेर्न पाउने विकल्प भएपछि भोजपुरी सिनेमासामु मुख्य चुनौती थपिएको छ।
दक्षिण भारतीय चलचित्रबाट सिक्नुपर्ने पाठ
दक्षिण भारतीय (तमिल, तेलुगु, कन्नड, मलयालम) चलचित्रहरूले आफ्ना स्थानीय कथा र पहिचानलाई नछोडीकनै बजार विस्तार गरेका छन्। नेपालमै पनि ‘बाहुबली’, ‘आरआरआर’, ‘पुष्पा’, ‘जेलर’ र ‘लियो’ जस्ता फिल्महरूले ठूलो दर्शक पाएका छन्।
यी सिनेमाहरू सफल हुनुमा भाषा मुख्य अवरोध बनेन। गुणस्तरीय डबिङ, सबटाइटल, आक्रामक प्रचार र आधुनिक प्रविधिको प्रयोगले गर्दा स्थानीय कथाले पनि विश्वव्यापी बजार पाउन सक्यो। भोजपुरी सिनेमाले यस मोडलबाट सिक्दै आफ्ना स्थानीय कथालाई आधुनिक र प्रतिस्पर्धात्मक ढंगले प्रस्तुत गर्नुपर्ने देखिन्छ।
तथ्याङ्क र अनुसन्धानको अभाव
अहिले भोजपुरी सिनेमा क्षेत्र अनुमानको भरमा चलिरहेको छ। कुन सहरमा कति दर्शक छन्? टिकट बिक्री र डिजिटल पहुँचको अवस्था कस्तो छ? भन्नेबारे चलचित्र विकास बोर्ड वा अन्य निकायहरूसँग पर्याप्त तथ्याङ्क छैन।
निर्माता र लगानीकर्ताहरूका लागि तथ्यमा आधारित बजार अध्ययन अत्यावश्यक भइसकेको छ, ताकि लगानी कति गर्ने, चलचित्र कसका लागि बनाउने र कहाँ प्रदर्शन गर्ने भन्ने निर्णय सही तरिकाले लिन सकियोस्।
मधेसका जीवन्त कथा र प्राविधिक गुणस्तर
मधेसको बदलिँदो समाज भोजपुरी चलचित्रका लागि कथा र पहिचानको ठूलो स्रोत हो। वैदेशिक रोजगारीको प्रभाव, युवा बेरोजगारी, सीमापार व्यापार, बसाइँसराइ, परिवारभित्रको पुस्तान्तरण, प्रेम र विवाहका बदलिँदा सम्बन्ध, कृषि, उद्यमशीलता, राजनीति तथा सामाजिक विभेद जस्ता जीवन्त विषयहरू यसका सशक्त कथानक बन्न सक्छन्।
तर, केवल कथा हुनु मात्र पर्याप्त छैन; आजको नयाँ पुस्ताले भोजपुरी चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरका सिनेमासँग दाँजेर हेर्ने गर्छ। त्यसैले यी कथालाई पर्दामा ल्याउँदा अभिनय, पटकथा, छायाङ्कन, ध्वनि, सम्पादन र संगीतमा पनि उच्च व्यावसायिक गुणस्तर कायम गर्नु उत्तिकै अनिवार्य देखिन्छ।
हराएको बजार होइन, बिराएको बाटो
भोजपुरी चलचित्रको मुख्य चुनौती बजार समाप्त हुनु होइन, बरु बदलिएको दर्शक र प्रविधिलाई समयमै बुझ्न नसक्नु हो। अबको पुनरुत्थान पुरानै ढर्राको बजार फर्काउने प्रयासमा सीमित हुनु हुँदैन।
बदलिएका दर्शकका लागि नयाँ कथा, आधुनिक प्रस्तुति र प्रभावकारी डिजिटल वितरण प्रणाली निर्माण गर्दै नयाँ बाटो पहिल्याउन सके मात्र भोजपुरी सिनेमाले आफ्नो गुमेको साख र बजार पुनः प्राप्त गर्न सक्छ।
कुमार विनाेद पाैड्याल