कुराकानी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १ हजार २९३ मत खसेको छ।
बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी भए पनि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी मतदान सुरु भएको थियो। नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी भइरहेका छन्।
मतदानका लागि काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा व्यवस्था मिलाइएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन् भने खुलामञ्चमा अन्य प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।
यसपटक एक महाधिवेशन प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था छ। धेरै पदमा मतदान गर्नुपर्ने भएकाले एक प्रतिनिधिलाई मतदान प्रक्रिया पूरा गर्न करिब आधा घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। यससँगै उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि पनि निर्वाचन भइरहेको छ।
मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइनेछ। निर्वाचनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी संगठनात्मक दिशा र राजनीतिक रणनीति तय गर्ने भएकाले यस महाधिवेशनलाई महत्त्वका साथ हेरिएको छ।
मतदानको पछिल्लो विवरणअनुसार खसेको मत र निर्वाचन प्रक्रियाबारे केन्द्रीय निर्वाचन समितिले थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।