‘हार्नेहरू पनि आफ्नै हुन्’ : गगन थापा

‘हार्नेहरू पनि आफ्नै हुन्’ : गगन थापा

पूर्वसभापति देउवा समूह महाधिवेशनको मूल प्रक्रियामा सहभागी नभएपछि पार्टीको आन्तरिक एकताबारे प्रश्न उठिरहेको छ।

  • कुराकानी

  • शुक्रबार, अशोज २३, २०८३

  • 1
    SHARES
‘हार्नेहरू पनि आफ्नै हुन्’ : गगन थापा

कुराकानी। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका नेता तथा निर्वाचनमा पराजित हुनेहरूलाई समेत समेटेर अघि बढ्ने बताएका छन्। मतदानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन गर्ने र सबैलाई पार्टीमा स्थान दिने प्रयास गरिने बताएका हुन्।

थापाको संकेत पूर्वसभापति शेरबहादुर देउवा समूहप्रति पनि लक्षित देखिन्छ। १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएका नेताहरूलाई समेट्ने बताउँदै उनले पार्टीभित्र असन्तुष्टि छ भने त्यसलाई संवादमार्फत सम्बोधन गर्न सकिने धारणा राखे।

‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ । हामी उहाँहरूलाई समेट्ने कोसिस गर्छौं,’ थापाले भने।

कांग्रेसभित्रै असन्तुष्ट भएर बाहिर रहेका नेताहरूलाई फर्काउने प्रयास गरिने उनको भनाइ छ। तर कसैले छुट्टै पार्टी खोल्ने निर्णय गरे त्यो उनीहरूको व्यक्तिगत छनोट हुने पनि उनले स्पष्ट पारे।

थापाले निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित हुनेहरूलाई पनि पार्टीबाट बाहिर राख्न नहुने बताए। उनका अनुसार पार्टीका हरेक व्यक्ति महत्त्वपूर्ण छन् र निर्वाचनको नतिजाले मात्रै उनीहरूको राजनीतिक भूमिका निर्धारण गर्नु हुँदैन।

‘कतिपय साथीलाई केन्द्रीय समितिमा फेरि जोडेर ल्याउने होला, कति साथीलाई अरू जिम्मेवारी दिने होला । तर सबैलाई समेटेर लिएर जाने हो,’ उनले भने।

आफूले पनि विगतमा पार्टीको निर्वाचनमा पराजय भोगेको अनुभव सुनाउँदै थापाले हारपछि पनि पार्टीमै रहेर काम गर्दा पुनः सफलता पाउन सकिने बताए। आफू एकपटक निकै कम मत ल्याएर पराजित भएको र पछि धेरै मतसहित निर्वाचित भएको प्रसंग उल्लेख गर्दै उनले चुनावी हारजितलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे।

‘निर्वाचनमा विजय पराजयले राजनीतिक निर्णयहरू नै बदल्छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन । त्यो त अराजनीतिक चरित्र भइहाल्यो,’ थापाले भने।

कांग्रेसको १५औँ महाधिवेशन यस्तो समयमा भइरहेको छ, जतिबेला पार्टीभित्र नेतृत्व, संगठन र राजनीतिक दिशालाई लिएर मतभेद देखिएका छन्। पूर्वसभापति देउवा समूह महाधिवेशनको मूल प्रक्रियामा सहभागी नभएपछि पार्टीको आन्तरिक एकताबारे प्रश्न उठिरहेको छ।

यसअघि पनि थापाले पार्टीलाई पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोड्ने संस्थाका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्। महाधिवेशनबाट नेतृत्व चयन भए पनि पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन र बाहिरिएका नेताहरूलाई समेट्ने चुनौती नयाँ नेतृत्वसामु रहनेछ।

थापाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र निर्वाचनको प्रतिस्पर्धालाई व्यक्तिगत दूरीमा बदल्न नहुने र पराजित तथा असन्तुष्ट पक्षलाई समेत पार्टीको मूलधारमा ल्याउने प्रयास गरिने सन्देश दिएको छ। तर यो प्रतिबद्धता व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा भने नयाँ नेतृत्वको निर्णय र आगामी राजनीतिक गतिविधिले देखाउनेछ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology