कुराकानी । नेपालको सांस्कृतिक विविधताभित्र नेवार समुदायको आफ्नै विशिष्ट पहिचान छ। यही पहिचानको एउटा महत्वपूर्ण पक्ष हो — नेपाल संवत्, अर्थात नयाँ वर्ष । यो संवत् केवल कालगणना मात्र होइन, नेपाली इतिहास, स्वाभिमान र सांस्कृतिक चेतनाको प्रतीक पनि हो।
नेपाल संवत्को सुरुवात ई.सं. ८७९ मा भएको मानिन्छ। यस संवत्को आरम्भ शङ्खधर साख्वा नामका महान परोपकारी व्यक्तित्वसँग जोडिएको छ।
कथाअनुसार, त्यतिबेला काठमाडौं उपत्यकाका धेरै जनताहरू ऋणको बोझले पिडित थिए। शङ्खधर साख्वाले आफ्नो धन सम्पत्ति खर्च गरेर जनताको सबै ऋण चुक्ता गरिदिए र त्यसपछि यो नयाँ युगको सुरुवात “ऋणमुक्ति संवत्”का रूपमा भयो। यही ऋणमुक्तिको क्षणलाई सम्झँदै नेपाल संवत् सुरु गरिएको हो।
यस घटनाले केवल एक आर्थिक परिवर्तन होइन, सामाजिक समानता र दानवीरताको सन्देश पनि दिएको थियो। त्यसैले शङ्खधर साख्वालाई आजसम्म “नेपाली जनताको मुक्तिदाता”का रूपमा सम्मान गरिन्छ।
नेपाल संवत् कार्तिक महिनाको कृष्ण पक्ष प्रतिपदाका दिन, अर्थात् तिहारको अन्तिम दिन, मनाइन्छ। यो दिनलाई नेवारी भाषामा “न्हूदः गु ल्हये” भनिन्छ, जसको अर्थ हो — “नयाँ वर्ष सुरु भएको दिन”।
यस अवसरमा नेवार समुदायमा म्हः पूजा गर्ने परम्परा पनि रहिआएको छ। म्हः पूजाको अर्थ हो — “स्वयंको पूजा”। यो आत्म–साक्षात्कार, आत्म–सम्मान र सकारात्मक सोचको प्रतीक मानिन्छ। प्रत्येक सदस्यले आफूलाई पूज्ने यो अनुष्ठानले “मानव शरीरलाई देवता”को रूपमा हेर्ने नेवार दर्शनलाई उजागर गर्छ।
नेपाल संवत्को अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर लगायतका क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ।
रथयात्रा, नाचगान, सांस्कृतिक झाँकी र पारम्परिक पोशाकमा सिंगारिएका समुदायका सदस्यहरूले राजधानीको सडकहरूमा बाजागाजासहित नयाँ वर्षको स्वागत गर्छन्।
बिशेष गरी बसन्तपुर दरबार, ठमेल लगायतका क्षेत्रमा हुने र्याली र झाँकीले यस पर्वलाई सांस्कृतिक पर्वको रूपमा स्थापित गरेको छ।
नेपाल संवत् अर्थात नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा शवही ल्याम पुच:ले आयोजना गरेको कार्यक्रमका झलकहरु :





सन्देश मुनिकार