पोखरामा असार ३० देखि एक साता लामो ‘स्पोर्ट्स वीक’ हुने, सात विधाका खेल समेटिने

पोखरामा असार ३० देखि एक साता लामो ‘स्पोर्ट्स वीक’ हुने, सात विधाका खेल समेटिने

  • कुराकानी

  • बुधबार, जेष्ठ २७, २०८३

  • 1
    SHARES
पोखरामा असार ३० देखि एक साता लामो ‘स्पोर्ट्स वीक’ हुने, सात विधाका खेल समेटिने

कुराकानी। खेलकुद संस्कृतिको प्रवर्द्धन र उदीयमान खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित पोखरामा आगामी असार ३० गतेदेखि एक साता लामो ‘स्पोर्ट्स वीक’ (खेल सप्ताह) आयोजना हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु हुने उक्त खेल महोत्सव साउन ५ गतेसम्म सञ्चालन हुनेछ।

खेल गतिविधिलाई व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने लक्ष्यसहित स्पोर्ट्स वीकको तयारी तीव्र पारिएको आयोजक समितिले जनाएको छ।

समितिका अध्यक्ष दीपक गोदारका अनुसार यस वर्षको स्पोर्ट्स वीकमा सात विधाका खेलहरू समावेश गरिएका छन्। तीमध्ये दुईवटा राष्ट्रियस्तरका र पाँचवटा आधारभूत (ग्रासरुट) तहका प्रतियोगिता रहनेछन्। राष्ट्रियस्तरतर्फ मुएथाइ र साइकलिङ प्रतियोगिता आयोजना हुनेछन् भने आधारभूत तहमा जुडो, हकी, फुल कन्ट्याक्ट कराते र टेबल टेनिस लगायतका खेलहरू समावेश गरिएका छन्।

आधारभूत तहका प्रतियोगिताहरूबाट नयाँ प्रतिभा पहिचान भई भावी पुस्ताका खेलाडी उत्पादनमा टेवा पुग्ने अध्यक्ष गोदारले विश्वास व्यक्त गरे। “यस पहलले स्थानीय खेलाडीलाई उचित अवसर प्रदान गर्ने, भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्‍याउने र खेलकुद संस्कृतिलाई सुदृढ बनाउने लक्ष्य लिएको छ,” उनले भने।

समितिका सदस्य सचिव सुरज अधिकारीका अनुसार स्पोर्ट्स वीकका दौरान मुख्य प्रतियोगिताका अतिरिक्त मार्शल आर्ट्स फेस्टिभल तथा अन्य खेलकुद सम्बन्धी विविध कार्यक्रमहरू समेत आयोजना गरिनेछन्। चालु आर्थिक वर्षमा महानगरपालिकाको आयोजना तथा सहजीकरणमा राष्ट्रपति रनिङ शिल्ड सहितका विभिन्न खेलकुद प्रतियोगिताहरू सम्पन्न भइसकेको जानकारी दिँदै अधिकारीले आगामी स्पोर्ट्स वीकले यसअघि समेटिन नसकेका खेल विधालाई समेत विशेष मञ्च उपलब्ध गराउने बताए।

विविध खेलको प्रवर्द्धन र प्रतिस्पर्धात्मक अवसर सिर्जना गर्नुका साथै राष्ट्रियस्तरका प्रतियोगितामार्फत पोखरालाई खेल पर्यटन (स्पोर्ट्स टुरिजम) को गन्तव्यका रूपमा स्थापित गर्न यो स्पोर्ट्स वीक महत्वपूर्ण कोशेढुङ्गा हुने आयोजकको अपेक्षा छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology