कुरौटे

विश्वकप खेलाडीका खुट्टामा पिंक जुत्ता !

विश्वकप खेलाडीका खुट्टामा पिंक जुत्ता !

  • कुराकानी

  • आइतवार, जेष्ठ ३१, २०८३

  • 12
    SHARES
विश्वकप खेलाडीका खुट्टामा पिंक जुत्ता !

कुराकानी । फिफा विश्वकप २०२६ हेर्दै हुनुहुन्छ भने एउटा कुरा याद गर्नुभएको छ?

मैदानमा दौडिरहेका धेरै खेलाडीको खुट्टामा गुलाबी (पिंक) जुत्ता चम्किरहेको छ।

केही वर्षअघि यही दृश्य देखिएको भए सायद जिस्क्याईन्थ्यो होला, गर्लफ्रेण्डको जुत्ता लगाएछ! सायद उसको मर्दाङ्गीमै प्रश्न उठ्न पनि बेर थिएन ।

तर , पिंकलाई ‘केटीको रङ’ बनाउने काम प्रकृतिले होइन, मार्केटिङले गरेको थियो।

सन् १९४०–५० तिर पश्चिमा देशका केहि कम्पनीहरूले निलो (ब्लु) लाई केटाको र गुलाबी (पिंक) लाई केटीको रङ भनेर प्रचार गर्न थाले।

बच्चाको लुगा, खेलौना, कोठाको सजावटदेखि लिएर आजसम्म चलिरहेको ‘बेबी रिभिल’ पार्टीसम्म यही सोच बेचियो। पिंक देखियो भने छोरी, ब्लु देखियो भने छोरा। विस्तारै यो व्यापारिक रणनीति समाजको सोच बन्यो।

तर आज विश्वकपका स्टार खेलाडीहरू निर्धक्क भएर पिंक जुत्ता लगाएर गोल हानिरहेका छन्। किनभने बजारले पनि एउटा कुरा बुझिसकेको छ, अब रङलाई केटा र केटी भनेर बेच्नुभन्दा आकर्षक, फरक र ट्रेन्डी बनाएर बेच्नु फाइदाजनक छ। मैदानमा टाढाबाटै देखिने चम्किलो पिंक जुत्ता ब्रान्डका लागि पनि बोनस नै भयो।

अझ रोचक कुरा त के छ भने, इतिहासको पाना पल्टाउँदा अहिलेको सोच उल्टो देखिन्छ। सन् १९०० तिर अमेरिकाका केही कपडा पसलहरूले पिंक केटाका लागि र ब्लु केटीका लागि सिफारिस गर्थे। त्यसबेला पिंकलाई रातोको हल्का रूप मानिन्थ्यो, र रातोलाई शक्ति तथा साहसको प्रतीक ठानिन्थ्यो। त्यसैले पिंक केटासँग जोडियो। ब्लुलाई भने शान्त र कोमल रङ मानिएकाले केटीसँग जोडिएको थियो।

त्यसो भए अब फेरि चक्र घुम्न थालेको हो त? मार्केट घुमेर अब केटाको कलर पिंक हो भन्यो भने अचम्म मान्न पर्दैन ।

तर विश्वकपको मैदानले जे भने पनि, रङको कुनै लिङ्ग हुँदैन। हिजो ‘केटीको रङ’ भनिएको पिंक आज विश्वकै चर्चित पुरुष खेलाडीहरूको खुट्टामा छ, र कसैलाई त्यसमा समस्या छैन।

सायद अब प्रश्न ‘पिंक केटाको कि केटीको?’ भन्ने होइन, ‘गोल कसले गर्‍यो?’ भन्ने हो ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology