स्थलमार्गीय पर्यटकका लागि नियम

स्थलमार्गीय पर्यटकका लागि नियम

भारतीय नागरिकहरूका लागि नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने भए पनि मान्य राहदानी वा मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ।

  • कुराकानी

  • आइतवार, जेष्ठ ३१, २०८३

  • 1
    SHARES
स्थलमार्गीय पर्यटकका लागि नियम

कुराकानी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गर्दै नेपालभित्र पालना गर्नुपर्ने र नगर्नुपर्ने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ।

मन्त्रालयले केही भारतीय पर्यटकहरूले सडकमै खाना पकाउने, नदी किनारमा लुगा धुने तथा जथाभावी फोहोर गर्ने गतिविधि बढेको गुनासो आएपछि यस्तो सूचना जारी गरेको जनाएको छ।

सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूले सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभागमार्फत अनलाइन वा भौतिक रूपमा प्रवेश अनुमति पत्र सुनिश्चित गर्नुपर्नेछ। सवारी साधनमा सवार यात्रुहरूको नाम सूची, उमेर र लिङ्ग विवरण भन्सार अधिकारीहरूलाई उपलब्ध गराउनुपर्नेछ भने नेपालमा बसाइको अनुमानित अवधि र भ्रमण गर्ने स्थानहरूको विवरण पनि दिनुपर्नेछ। सुरक्षाको दृष्टिले सवारी साधन र सामानको पूर्ण जाँच गराउनुपर्ने उल्लेख गरिएको छ।

भारतीय नागरिकहरूका लागि नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने भए पनि मान्य राहदानी वा मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। ज्येष्ठ नागरिक र बालबालिकाको हकमा आधार कार्डलाई पनि आधिकारिक परिचयपत्रका रूपमा मान्यता दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नेपालका सडकहरू, विशेषगरी पहाडी क्षेत्रका सडकहरू साँघुरा र धेरै घुम्ती भएका हुन सक्ने भन्दै सवारी साधनलाई राम्रो अवस्थामा राख्न र अनुभवी चालकमार्फत मात्र भारतीय सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ। साथै चालकहरूलाई नेपालको भू–आकृतिक स्वरूप, जलवायु र मौसमसम्बन्धी पर्याप्त जानकारी हुनुपर्ने उल्लेख गरिएको छ।

तीर्थयात्रीहरूलाई मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम, स्वर्गद्वारी, सुपादेउरा ली, पाथिभरा, बडिमालिका, पशुपतिनाथ, वराहक्षेत्र, देवघाट त्रिवेणीधाम, दामोदरकुण्ड र गोसाइँकुण्डजस्ता धार्मिक स्थलहरू सफा राख्न अनुरोध गरिएको छ। उच्च स्थानमा लेक लाग्ने (अल्टिच्युड सिकनेस) समस्या हुन सक्ने भएकाले आवश्यक परे बोटल अक्सिजनको व्यवस्था गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।

प्रयोग गरिएका कपडा, बन्दोबस्तीका सामग्री तथा फोहोरमैला तोकिएको स्थानमा रहेको फोहोरदानीमा मात्र फाल्नुपर्ने र सडक तथा खुला स्थानमा फोहोर फाल्नु नियम उल्लङ्घन मानिने जनाइएको छ। नियम उल्लङ्घन गरेमा कानुनी कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ।

आफैँ खाना पकाउने पर्यटकहरूले भान्सा र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सक्ने होटलहरूसँग अग्रिम सम्पर्क गर्नुपर्ने मन्त्रालयको भनाइ छ। खुला स्थानमा खाना पकाउनुपर्ने अवस्थामा अनुमति तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी वा सेवा प्रदायकसँग समन्वय गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology