कुराकानी। चलचित्र त अझै हलमा पुगेको छैन। तर ‘मास्टर्नी’ भने रिलिज हुनुअघि नै सामाजिक सञ्जालको ‘स्टाफ रुम’मा पुगिसकेको छ।
दुर्गेश थापा र बबिना किराँतीको स्वर रहेको प्रमोसनल गीत सार्वजनिक भएपछि कमेन्ट बक्समा नयाँ बहस सुरु भयो। कसैले भने, “यो त मनोरञ्जन हो।” अर्कोतर्फ कतिपयले भने, “शिक्षक पेशालाई नै मजाक बनाइयो।”
गीतमा प्रयोग भएका केही शब्द, संवाद र ‘मास्टर्नी’ पात्रको प्रस्तुतिलाई लिएर आलोचना बढेपछि सामाजिक सञ्जाल दुई धारमा बाँडिएको छ। एक पक्षले सिर्जनात्मक स्वतन्त्रताको कुरा गरिरहेको छ भने अर्को पक्षले शिक्षक पेशाको सम्मानमाथि प्रश्न उठाएको बताइरहेको छ।
रोचक कुरा के भने, चलचित्रको प्रमोसनका लागि बनाइएको एउटा गीतले नै फिल्मभन्दा अगाडि बहसको स्क्रिप्ट लेखिदिएको छ।
अब प्रश्न यो छ, विवादले फिल्मलाई फाइदा गर्छ कि उल्टै दर्शकलाई टाढा बनाउँछ?
किनभने नेपाली फिल्ममा एउटा पुरानो ट्रेन्ड छ, कहिलेकाहीँ ट्रेलरभन्दा विवाद धेरै भाइरल हुन्छ, अनि विवादभन्दा ठूलो प्रचार अरू केही हुँदैन। अब ‘मास्टर्नी’लाई पनि यही विवादले बक्स अफिससम्म पुर्याउँछ कि दर्शकले ‘रेड पेन’ निकाल्छन्, त्यो भने फिल्म रिलिज भएपछि मात्रै थाहा हुनेछ।