कुराकानी। फुटबल र चल्तीका भिडियोहरूको भीडमा सामाजिक सञ्जालमा १७ मिनेटको एउटा भारतीय मिनि सिरिज ‘आछरी’ अहिले निकै चर्चामा छ। भारतको पहाडी क्षेत्रमा प्रचलित वनदेवीको लोककथामा आधारित यो सिरिजले दर्शक र समीक्षकको ध्यान तानेको हो।
विशेष गरी टिकटक र रिल्सका लागि उपयुक्त भर्टिकल फर्म्याट मा खिचिएको यो सिरिज जम्मा ६ एपिसोड (कुल १७ मिनेट) को छ। छोटो भए पनि यसको सिनेमेटोग्राफी, साउन्ड डिजाइन र पाश्र्व संगीत ३ घण्टाको फिल्म जस्तै उत्कृष्ट रहेको बताइएको छ। वनदेवीले जंगलको रक्षा कसरी गर्छिन् र उनी रिसाउँदा के हुन्छ भन्ने रहस्यमयी र थ्रिलर कथा यसमा देखाइएको छ।
दक्षिण भारतीय फिल्म ‘कान्तारा’ जस्तै प्रकृति र लोक विश्वास मन पराउनेहरूका लागि यो सिरिज युट्युब च्यानल ‘सिर्जन डंगवाल छली कहानी’मा उपलब्ध छ। थोरै बजेट र सीमित समयमा पनि उत्कृष्ट सिनेमा बनाउन सकिन्छ भन्ने यो एउटा राम्रो उदाहरण बनेको छ।