कुराकानी। नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच पार्टी दर्ता नहुँदै मतभेद देखिन थालेको छ ।
राणा र प्रसाईंले मिलेर नयाँ दल गठन गर्ने घोषणा गर्दै पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने सहमति गरेका थिए । सहमतिअनुसार राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेताको भूमिकामा रहने भनिएको थियो ।
तर, पार्टी दर्ताको प्रक्रिया अघि बढ्दै गर्दा नेतृत्वको वरियता र आगामी निर्वाचनमा उम्मेदवार छनोटको विषयले दुई पक्षबीच दूरी बढाएको बताइएको छ ।
धवल पक्षले प्रसाईंले यसअघि भएको सहमतिभन्दा फरक ढंगले पार्टीमा आफ्नो वरियता पहिलो हुनुपर्ने प्रस्ताव अघि सारेको दाबी गरेको छ । त्यस्तै, निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्रसाईंको हस्ताक्षरसमेत अनिवार्य हुनुपर्ने प्रस्ताव आएको धवल पक्षको भनाइ छ ।
सहमति भएको विषयमा नयाँ–नयाँ सर्त थपिन थालेपछि पार्टी गठनको प्रक्रिया प्रभावित हुनसक्ने धवल पक्षका नेताहरूको आशंका छ ।
यता प्रसाईं पक्षले भने दुई नेताबीच विवाद नरहेको दाबी गरेको छ । प्रसाईं पक्षका नेता माधव निर्दोषले एकता प्रक्रिया निरन्तर अघि बढिरहेको र कार्यदलले काम गरिरहेको बताएका छन् ।
उनका अनुसार साउन २८ गते पार्टी दर्ता गर्ने तयारी भए पनि उक्त मिति विवादका कारण नभई ज्योतिषीको सुझावका आधारमा सारिएको हो ।
राणा र प्रसाईंले यसअघि राजसंस्था, हिन्दु अधिराज्यलगायतका मुद्दालाई केन्द्रमा राखेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सहमति गरेका थिए । दुई पक्षबीच ११ बुँदे सहमतिसमेत भएको थियो ।
तर पार्टी औपचारिक रूपमा दर्ता हुनुअघि नै नेतृत्व, वरियता र टिकट वितरणको विषय प्रवेश गरेपछि नयाँ दलको आगामी यात्रा कस्तो हुन्छ भन्ने चासो बढेको छ ।