कपराकानी। पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट महाराजगञ्ज प्रहरी वृत्तमा सारिएको छ।
प्रहरीका अनुसार परिसरमा थुनुवाको चाप बढेकाले अनुसन्धान तथा मुद्दा अभियोजनलाई सहज बनाउन उनलाई बिहीबार साँझ महाराजगञ्ज सारिएको हो।
श्रेष्ठमाथिको अनुसन्धान प्रकाशित समाचारसँग सम्बन्धित विषयमा मात्रै सीमित नरहेको प्रहरी स्रोतले जनाएको छ। अन्य विषयमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कम चाप भएको प्रहरी कार्यालयमा राखिएको स्रोतको भनाइ छ।
अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठसँग रहेका विभिन्न इलेक्ट्रोनिक उपकरणको परीक्षण अघि बढाएको छ। उनका उपकरण नक्सालस्थित डिजिटल फरेन्सिक ल्याब र सामाखुसीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण भइरहेको जनाइएको छ।
यस्तै, श्रेष्ठसँग सम्बन्धित विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबारसमेत प्रहरीले अध्ययन गरिरहेको स्रोतले जनाएको छ।
प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठलाई भेट्न चाहने व्यक्तिको भेटघाटमा समेत नियन्त्रण गरेको छ। परिवारले उपलब्ध गराएका आवश्यक स्वास्थ्य सामग्री भने प्रयोग गर्न दिइएको प्रहरीले जनाएको छ।
श्रेष्ठ बुधबार पक्राउ परेका थिए। उनीमाथि व्यक्तिगत गोपनीयतासम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।