कुराकानी। लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गरेका छन्। उनले जोखिम पहिचान गरी आवश्यकताअनुसार बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने बताएका छन्।
मन्त्री तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर सूर्यगढी गाउँपालिका–२ चोकदेमा रहेको राम्चे भिर, रातामाटे, पहरेथोकलगायतका क्षेत्रको निरीक्षण गरेका हुन्। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै आसपासका बस्ती जोखिममा परेपछि उनले स्थानीयवासी, जनप्रतिनिधि, प्राविधिक तथा सुरक्षा निकायका अधिकारीसँग अवस्थाबारे जानकारी लिएका थिए।
राम्चे र रातामाटे क्षेत्रमा गएको पहिरोका कारण पहरेथोक, फट्पुरलगायतका बस्ती जोखिममा रहेको स्थानीयले बताएका छन्। निरीक्षणका क्रममा पहिरोको अवस्था, बस्तीमा परेको प्रभाव तथा तत्काल अपनाउनुपर्ने सुरक्षाका उपायबारे भूगर्भविद्, सडक इन्जिनियर र स्थानीय अधिकारीसँग छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले विपद् आएपछि उद्धार र राहतमा मात्र सीमित नभई जोखिमको पूर्वपहिचान गरी नागरिकको ज्यान तथा सम्पत्तिको सुरक्षा गर्नुपर्ने बताए। जोखिमयुक्त बस्तीलाई भूगर्भीय अध्ययनका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा सम्बन्धित निकायबीच समन्वय गरी प्रक्रिया अघि बढाउने उनको भनाइ छ।
उनले जोखिममा रहेका परिवारका लागि तत्काल सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। अस्थायी टहरा वा टेन्टको व्यवस्था नभएका परिवारलाई तत्काल आवश्यक प्रबन्ध मिलाउन उनले आग्रह गरेका छन्।
पहिरो खसेका कतिपय क्षेत्रमा माथिबाट ढुंगा खस्ने जोखिमसमेत रहेकाले नागरिकको आवतजावत सुरक्षित बनाउन र सडकमा खसेको पहिरो तत्काल हटाउन उनले निर्देशन दिए।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग जिल्लाको विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिए। पहिरोका कारण विद्युत्का पोल तथा संरचनामा क्षति पुगेपछि केही स्थानमा सेवा प्रभावित भएको भन्दै उनले क्षतिग्रस्त संरचना मर्मत गरी विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न आग्रह गरे।
त्यस्तै, सडक डिभिजन नुवाकोटका अधिकारीसँग सडकको अवस्थाबारे जानकारी लिँदै पहिरोका कारण अवरुद्ध तथा जोखिममा रहेका सडकखण्ड सुरक्षित रूपमा सञ्चालनमा ल्याउन तत्काल काम अघि बढाउन निर्देशन दिए।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सूर्यगढी गाउँपालिका–१ को सेमराङ तथा वडा नं. २ का फट्पुर र पहरेथोकलगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेको जानकारी दिए। उनका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको छ भने थप जोखिम मूल्याङ्कन गरी दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।
मन्त्री तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–४ का स्थानीय प्रकाश गिरीको पहिरो प्रभावित घरको समेत निरीक्षण गरी प्रभावित परिवारसँग कुराकानी गरेका थिए। स्थानीयले टेलिफोन तथा इन्टरनेट, सडक, विद्युत्, पहिरो नियन्त्रण तथा सुरक्षित बस्ती व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराएका थिए।
यसै क्रममा उनले दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको समेत निरीक्षण गरेका छन्। तादी गाउँपालिका–३ अल्छेढुंगाना र शिवपुरी गाउँपालिका–६ अखौलीका पहिरो प्रभावित क्षेत्रको पनि स्थलगत अवलोकन गरी स्थानीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
लगातारको वर्षाका कारण नुवाकोटका ग्रामीण सडक तथा बस्तीमा पहिरोको जोखिम बढेको छ। स्थलगत निरीक्षणबाट जोखिममा रहेका परिवार, सडक तथा विद्युत् पूर्वाधारमा भएको क्षति र तत्काल आवश्यक काम पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जोखिमयुक्त बस्तीलाई तत्काल सुरक्षित स्थानमा राख्नुका साथै भूगर्भीय अध्ययनका आधारमा दीर्घकालीन पुनःस्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ। यसका लागि स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश तथा संघीय सरकार र सम्बन्धित प्राविधिक निकायबीच समन्वय आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताएका छन्।