कुराकानी । कलाकार सिम्रन खड्का यतिबेला जताततै छाएकी छन्।
युट्युबमा ‘बेहुली फ्रम मेघौली’, केही हप्तादेखि हलमा चलिरहेको ‘गौंथली’ अनि यो हप्तादेखि ‘मास्टर्नी’।
फिल्म फेरिँदै गए, पात्र फेरिँदै गए, तर दर्शकको स्क्रिनमा सिम्रनको अनुहारचाहिँ लगातार दोहोरिइरहेको छ।
कान्तिपुर फिल्म एकेडेमीमा पढेर अभिनयमा प्रवेश गरेकी सिम्रनले डेब्यु फिल्म ‘प्रेमगन्ज’ मा नायकलाई एकोहोरो मन पराउने पात्रको भूमिका निर्वाह गरेकी थिइन्।
पहिलो फिल्मबाटै दर्शकको ध्यान खिचेकी उनले ‘अगस्त्य’ लगायतका फिल्ममा पनि सानातिना भूमिका गरिन्।
तर, ‘बेहुली फ्रम मेघौली’ मा कलाकार स्वस्तिमा खड्कासँग स्क्रिन सेयर गरेपछि भने सिम्रन अझ धेरै दर्शकको नजरमा परिन्।
यतिबेला उनको अर्को फिल्म ‘गौंथली’ लगातार छैटौँ हप्तामा प्रदर्शन भइरहेको छ। व्यावसायिक रूपमा समेत राम्रो प्रदर्शन गरिरहेको फिल्ममा सिम्रनको अभिनयले दर्शकको मन जितिरहेको छ।
त्यसमाथि, यही हप्तादेखि उनी अभिनित ‘मास्टर्नी’ पनि प्रदर्शनमा आएको छ। अर्थात्, एकपछि अर्को फिल्ममा सिम्रनको उपस्थिति।
आफूले थाहा पाउने बेलादेखि नै कलाकार बन्ने इच्छा रहेको बताउने सिम्रनका लागि अहिलेको त्यहि सपनाले आकार लिइरहेको समय हो जस्तो लाग्छ ।
फिल्म फेरिए पनि अनुहार उही । सिम्रनको ‘स्क्रिन टाइम’ तपाईले भने कत्तिको इन्जोय गरिरहनुभएको छ, प्रतिक्रिया दिनुहोला ।