गृहमन्त्री गुरुङलाई पत्रकारको प्रश्न– ‘भोट फिर्ता’ कसरी लैजाने हो?

गृहमन्त्री गुरुङलाई पत्रकारको प्रश्न– ‘भोट फिर्ता’ कसरी लैजाने हो?

गुरुङको जवाफ थियो ‘जोक गरेको कुरालाई यत्रो ठूलो बनाएर काण्ड बनाउने हो?’

  • कुराकानी

  • बुधबार, भदौ ३, २०८३

  • 6
    SHARES
गृहमन्त्री गुरुङलाई पत्रकारको प्रश्न– ‘भोट फिर्ता’ कसरी लैजाने हो?

कुराकानी। राजनीतिमा भाषण गर्दा शब्द तौलिनुपर्छ भनिन्छ। तर गृहमन्त्री सुधन गुरुङले गोरखामा मतदातासँग गरेको एउटा ‘जोक’ अहिले उनैलाई पत्रकारको प्रश्नको घेरामा पुर्‍याएको छ।

गोरखाको शहीद लखन गाउँपालिका–९ का मतदाताले चुनावका बेला गरेको प्रतिबद्धता सम्झाउँदै विकास निर्माणका कामबारे प्रश्न गरे। खासगरी ल्याबका लागि बजेट छुट्याउने भनिएको वाचा पूरा नभएको विषय उठेपछि गुरुङले चार महिनामै सबै कुरा परिवर्तन खोज्न नमिल्ने भन्दै ‘भोट फिर्ता लैजानुस्’ भनेका थिए।

अब गृहमन्त्रीले भनेको ‘भोट फिर्ता’को कुरा मतदातामै सीमित रहेन। बुधबार सिंहदरबारमा पत्रकारले भेटेपछि सोधिहाले ‘भोट फिर्ता कसरी लिने? फेरि चुनाव गर्ने हो?’

गुरुङको जवाफ थियो, ‘जोक गरेको कुरालाई यत्रो ठूलो बनाएर काण्ड बनाउने हो?’ आफ्नै पार्टीका मान्छेबीचको कुराकानी भएकाले त्यसलाई मजाकका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

तर पत्रकारको अर्को प्रश्न अझै तिखो थियो– ‘यो जोक गर्ने विषय हो?’

गुरुङले आफूहरूबीचको सल्लाह कुराकानी भएको भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गरे।

त्यसपछि कुराकानी पुग्यो अर्को चर्चित विषयमा, गृहमन्त्रीको सम्पत्ति छानबिन प्रतिवेदन। पत्रकारले प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भनेर सोधे।

जवाफ आयो ‘तपाईंलाई ल्याएर देखाउँछु म।’

गुरुङको सम्पत्तिमाथि प्रश्न उठेपछि सरकारले छानबिन गरेको थियो। प्रतिवेदन बुझाइसकिएको भए पनि त्यसलाई सार्वजनिक नगरिएको विषयमा भने प्रश्न उठ्दै आएको छ। यसअघि प्रतिवेदनले गुरुङलाई सफाइ दिएको भन्दै उनलाई पुनः गृहमन्त्री बनाइएको र प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै पारदर्शितामाथि आलोचना पनि भएको छ।

यसरी गोरखामा मतदातालाई भनिएको ‘भोट फिर्ता’ देखि सिंहदरबारमा पत्रकारलाई दिइएको ‘जोक हो’ र ‘प्रतिवेदन ल्याएर देखाउँछु’ भन्ने जवाफसम्म आइपुग्दा गृहमन्त्री गुरुङको केही मिनेटको सवाल जवाफ राम्रै चर्चाको विषय बनेको छ।

अब गोरखाका मतदाताले साँच्चै भोट फिर्ता लैजाने हुन् कि गृहमन्त्रीको त्यो कुरा ‘जोक’मै सीमित हुने हो–त्यो चाहिँ राजनीति र समयले नै बताउला।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology