दसैँको किनमेलले बदलियो भाग्य, सन्तमायालाई १० लाख

दसैँको किनमेलले बदलियो भाग्य, सन्तमायालाई १० लाख

विजेता घोषणा भएपछि उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँको उपहार परेको जानकारी गराएका थिए।

  • कुराकानी

  • आइतवार, कार्तिक २, २०८३

  • 1
    SHARES
दसैँको किनमेलले बदलियो भाग्य, सन्तमायालाई १० लाख

कुराकानी। दसैँका लागि ३ हजार रुपैयाँको सामान किनेकी नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।

आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङले उक्त पुरस्कार जितेकी हुन्। उनले दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरेकी थिइन्। सामान किनेपछि लिएको बिलको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो।

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएपछि उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँको उपहार परेको जानकारी गराएका थिए।

सुरुमा आफूलाई कसैले जिस्क्याएको ठानेकी तामाङले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि मात्र उपहार जितेको विश्वास गरेकी थिइन्।

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। उनीहरूले कर कट्टीपछि जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

विभागका अनुसार उक्त अवधिमा बिल प्रविष्ट गरी २ लाख ७५ हजार ८८४ कारोबार कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।

विभागले सबै विजेतालाई आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology