कुराकानी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तन र भौगोलिक विपद्को जोखिम न्यूनीकरण गर्न क्षेत्रीय सहकार्य तथा आधुनिक प्रविधिको उपयोगमा जोड दिएका छन्।
थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले हिमाली क्षेत्रमा देखिने जलवायुजन्य जोखिम तथा प्राकृतिक विपद्को सामना गर्न साझा प्रयास आवश्यक रहेको बताएका हुन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) द्वारा आयोजित सम्मेलनमा विपद् पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने, क्षेत्रीय स्याटेलाइटबाट प्राप्त तथ्यांकमा पहुँच बढाउने र जलवायु परिवर्तनबाट हुने क्षतिका लागि क्षतिपूर्तिको विषय उठाउने नेपालको तयारी छ।
नेपालको भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्बाट प्राप्त पाठलाई क्षेत्रीय स्तरमा उपयोग गर्दै भविष्यमा हुन सक्ने शृङ्खलाबद्ध विपद्को जोखिम घटाउने विषयमा पनि छलफल हुँदैछ। नेपाल, थाइल्यान्ड र यूएन ईएससीएपीको संयुक्त आयोजनामा बिहीबार यससम्बन्धी कार्यशाला आयोजना हुँदैछ।
मन्त्री श्रेष्ठले सम्मेलनका क्रममा विभिन्न देशका प्रतिनिधिसँग विपद् व्यवस्थापन, प्रविधिको आदानप्रदान र जलवायुजन्य क्षति न्यूनीकरणका विषयमा छलफल गर्ने कार्यक्रम छ।
मन्त्री श्रेष्ठ अक्टोबर २७ मा बैंकक प्रस्थान गरेका हुन्। उनी अक्टोबर ३१ मा स्वदेश फर्किने कार्यतालिका छ।