कुराकानी। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा शाहलाई औपचारिक सम्मान प्रदान गरिएको हो। राजकीय भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने कूटनीतिक परम्पराअनुसार उनलाई यस्तो सम्मान दिइएको हो।
प्रधानमन्त्री शाह आइतबार दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।
शाहले भारत भ्रमणका क्रममा सोमबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन्।
भेटवार्तामा दुई देशबीचको व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, लगानी तथा हवाई सम्पर्क विस्तारलगायतका विषयमा छलफल हुने कार्यसूची छ। भेटपछि दुवै प्रधानमन्त्रीले विभिन्न विकास परियोजनाको संयुक्त उद्घाटन तथा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।
उल्लेखनीय छ, प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको गार्ड अफ अनर ग्रहण नगरी नियमित व्यावसायिक उडानमार्फत दिल्ली गएका थिए। तर, भारतमा भने उनले औपचारिक सैन्य सम्मान ग्रहण गरेका छन्। यस विषयले अहिले सार्वजनिक वृत्तमा समेत चर्चा पाएको छ।