दुई महिना बितिसक्दा पनि बनेन दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल

दुई महिना बितिसक्दा पनि बनेन दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल

पुल पुनर्निर्माणका लागि पहिलो चरणमा सस्पेन्सन ब्रिज डिभिजनले भौतिक पूर्वाधार मन्त्रालयसँग पाँच करोड रुपैयाँ बजेट माग गरेको छ।

  • कुराकानी

  • शुक्रबार, मंसिर १२, २०८३

  • 0
    SHARES
दुई महिना बितिसक्दा पनि बनेन दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल

कुराकानी। चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएको दुई महिना बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। गत सेप्टेम्बर ३० मा महाकाली नदीमा आएको बाढीले पुलको एक भाग र खम्बामा क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द छ।

पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ। यसअघि उक्त पुलले दोधारा–चाँदनीका बासिन्दालाई महेन्द्रनगरलगायत जिल्लाका अन्य क्षेत्रमा पुग्न सहज बनाएको थियो। पुल निर्माण हुनुअघि स्थानीयले नेपालकै अन्य क्षेत्रमा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो।

पुल पुनर्निर्माणका लागि पहिलो चरणमा सस्पेन्सन ब्रिज डिभिजनले भौतिक पूर्वाधार मन्त्रालयसँग पाँच करोड रुपैयाँ बजेट माग गरेको छ। तर, भत्किएको पिल्लर आसपास नदीको बहाव कायम रहेकाले माटो परीक्षणलगायतका प्राविधिक काम अघि बढाउन नसकिएको डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले बताएका छन्। नदीको पानीको सतह घटेपछि प्राविधिक प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामा जाने तयारी छ।

पुलको क्षति अध्ययन गर्न पुगेको प्राविधिक टोलीले करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। भत्किएको पिल्लरसँगै अन्य दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको टोलीले औँल्याएको छ। यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले पुल पुनर्निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ।

पुल बन्द हुँदा स्थानीयको दैनिक आवागमनसँगै आसपासका होटल तथा पर्यटन व्यवसायसमेत प्रभावित भएका छन्। दसैं–तिहारको समयमा पर्यटकको चहलपहल रहने उक्त क्षेत्रमा पुल बन्द भएपछि व्यवसायीको आम्दानी घटेको छ।

२०६१ सालमा निर्माण सम्पन्न भएको एक हजार ४५२ दशमलव ९६ मिटर लामो यो पुल दोधारा–चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महत्वपूर्ण संरचना हो। पुल पुनर्निर्माणमा भइरहेको ढिलाइले स्थानीयको आवागमन र आर्थिक गतिविधिमा थप असर पर्ने देखिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology