कुराकानी। फ्रान्सेली अभिनेता जेरार्ड डेपार्डियुविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहारको आरोपमा मुद्दा चल्ने भएको छ। पेरिसस्थित पुनरावेदन अदालतले सन् २०१८ मा अभिनेत्री चार्लोट अर्नोल्डमाथि भएको भनिएको बलात्कार घटनासम्बन्धी मुद्दा अघि बढाउन आदेश दिएको हो।
७७ वर्षीय डेपार्डियुविरुद्ध अर्नोल्डले सन् २०१८ मा पेरिसस्थित आफ्नै निवासमा दुई पटक बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। घटनाका बेला अर्नोल्ड २२ वर्षकी थिइन्।
बिहीबार अदालतले अगस्ट ७, २०१८ मा भएको भनिएको घटनासम्बन्धी आरोपमा मुद्दा चलाउन अनुमति दिएको हो। तर, अगस्ट १३ मा भएको भनिएको दोस्रो घटनासम्बन्धी आरोप भने अदालतले खारेज गरेको छ।
डेपार्डियुले आफूमाथिका बलात्कारसम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन्। उनका वकिलले अदालतको निर्णयप्रति असहमति जनाएका छन्। यद्यपि, फ्रान्सको सर्वोच्च अदालतमा पुनरावेदन गर्ने वा नगर्नेबारे उनले स्पष्ट पारेका छैनन्।
यो घटना डेपार्डियुविरुद्धको छुट्टै यौन दुर्व्यवहार मुद्दामा आएको फैसलापछि सार्वजनिक भएको पछिल्लो कानुनी घटनाक्रम हो। सन् २०२१ मा चलचित्रको छायांकनका क्रममा दुई महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई सन् २०२५ मा १८ महिनाको निलम्बित जेल सजाय सुनाइएको थियो। उनले यसै नोभेम्बर १६ मा उक्त फैसलाविरुद्धको पुनरावेदन फिर्ता लिँदै दोषी ठहर भएको स्वीकार गरेका थिए र पीडितहरूसँग माफीसमेत मागेका थिए।
डेपार्डियु फ्रान्सेली चलचित्र उद्योगका चर्चित अभिनेतामध्ये एक हुन्। पाँच दशक लामो अभिनय यात्रामा उनले दुई सयभन्दा बढी चलचित्र तथा टेलिभिजन प्रस्तुतिमा काम गरेका छन्। चलचित्र ‘साइरानो डे बर्जेराक’ बाट उनले ओस्कार मनोनयनसमेत प्राप्त गरेका थिए।
उनिविरुद्धका यौन दुर्व्यवहारसम्बन्धी आरोपले फ्रान्सको चलचित्र उद्योगमा ‘मि टू’ अभियान र महिला सुरक्षाबारे बहस चर्काएको छ।