फिल्म महाेत्सव

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने

“युरोपियन युनियन–नेपाल सम्बन्धको पचास बर्षः सांस्कृतिक विविधताको उत्सव” मूल नाराका साथ महोत्सवको १३ औं संस्करण हुने भएको हो ।

  • कुराकानी

  • शनिबार, चैत्र ३, २०८०

  • 208
    SHARES
नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने

काठमाडौ । नेपालका लागि युरोपियन युनियनको डेलिगेशनको आयोजनामा नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने भएको छ ।

“युरोपियन युनियन–नेपाल सम्बन्धको पचास बर्षः सांस्कृतिक विविधताको उत्सव” मूल नाराका साथ महोत्सवको १३ औं संस्करण हुने भएको हो ।

युरोपियन युनियन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ५० औं बार्षिकोत्सव मनाउने क्रममा यो महोत्सव पनि मनाउन लागिएको आयोजकको भनाई छ ।

यस महोत्सवमा नेपालको तर्फबाट अभिनेत्री उपासना सिंह ठकुरी दूतको रुपमा चयन भएकी छन् ।

चलचित्र महोत्सवको उद्घाटन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमामा मार्च २० (चैत्र ७) मा हुने र मार्च २३ (चैत्र १०) सम्म जारी रहने आयोजकले जानकारी दिएका हुन् ।

महोत्सवको उद्घाटन कार्यक्रममा निम्ता गरिएका अतिथिहरुको मात्र सहभागीता रहनेछ भने अन्य दिनमा सबैका लागि खुल्ला हुनेछ ।
उद्घाटनको दिन मार्टीन म्याकडोनागले निर्देशन गरेका विभिन्न अवार्ड जितेको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र डाय ड्रिम्स प्रदर्शित हुनेछ ।

त्यस्तै, पहिलो दिन प्रर्दशनमा आएको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’ चलचित्रको पुनः प्रदर्शन २२ मार्च (चैत्र ९ गते) दिउँसो १.३० मा हुनेछ ।

विभिन्न अन्तराष्ट्रिय पुरस्कारहरू प्राप्त यो चलचित्र सुन्दर र मनमोहक आइरीस ग्रामीण परिवेशमा सरल तर अर्थपुर्ण कथावस्तु समेटिएका छन् ।

महोत्सवको हरेक स्क्रिनिङ्ग एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुई वटा फिल्महरु देखाइने आयोजकको भनाई छ ।

महोत्सवका लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । विजेता चलचित्रका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु शरद क्रृतुमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्रहरुको महोत्सवमा सहभागी हुने भएका छन् । महोत्सवमा भाग लिने युवा निर्देशकहरूको छनौट भने बाँकी रहेको आयोजकको जनाएको छ ।

यो महोत्सवको लागि १० वटा लघु नेपाली चलचित्रहरु प्रतिस्पर्धामार्फत छनौट गरिएको थियो । प्रतिस्पर्धामा युवा नेपाली चलचित्र निर्देशकहरूबाट ठुलो संख्यामा चलचित्रहरु प्राप्त भएका थिए ।

महोत्सव अवधीभर ९ वटा युरोपियन चलचित्रहरु र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । युरोपियन चलचित्रहरुमा मार्टीन म्याकडोनाग निर्देशित द ब्यानशीस अफ इनीशेरीन (आयरल्याण्ड), मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्लस् (स्पेन), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्टस् (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड (बुल्गेरीया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट (स्पेन) रहेका छन् ।

यसैगरी महोत्सवमा नेपाली चलचित्रहरु शान्ता नेपाली निर्देशित डाय ड्रिम्स, गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल प्रदर्शन हुनेछन् ।

महोत्सव अप्रिल १० र ११ गते सुदुरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ । सुदुरपश्चिम विश्वविद्यालयको हलमा चलचित्रहरु प्रदर्शित हुनेछन् । यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ जहाँ अप्रिल १५ मा चलचित्रहरू प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा १९ र २० अप्रिलमा चलचित्र महोत्सव हुने छ ।
नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ‘फिल्म क्रिटिक्स् कम्पिटिसन’ (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना गर्दैछ । यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा÷समालोचनालाई ‘फिल्म क्रिटिक्स् अवार्ड’ प्रदान गरिनेछ ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology