फिल्म समीक्षा

जात व्यवस्था देखाउन चुकेकाे फिल्म पुजार सार्की

जात व्यवस्था देखाउन चुकेकाे फिल्म पुजार सार्की

फिल्ममा दमै पात्र वलिया हाे, उनिहरूकाे बाजा अर्थात हतियार दमाहा शक्तिशाली छ, तर तिमीहरू नै शक्ति हुँदाहुँदै आफै दलित भएका हाै भन्ने भाष्य नजानिँदाे पाराले लादिएकाे छ ।

  • कुराकानी

  • शुक्रबार, जेष्ठ १८, २०८१

  • 330
    SHARES
जात व्यवस्था देखाउन चुकेकाे फिल्म पुजार सार्की

कुराकानी । पुजार सार्की, एक बाहुनले नागरिकतामा सार्की थर लेखाउन गरेको संघर्ष त पक्कै हैन, महानता भनौं, त्यसैको वरिपरी घुमेको फिल्म हो ।

देशमा नाम चलेका गैर-दलित हिरोहरुकाे मुख्य भुमिकामा बनेकाे फिल्म हेर्नका लागि हलसम्म पुग्नै पर्ने हुन्छ । यतिवेला फिल्म हलहरुमा  प्रर्दशन भइरहेको छ ।

फिल्मले २०४६ सालतिरको समय देखाउने प्रयास गरेकाे छ । जसरी तीन दशक अघिकाे समय देखाउन फिल्मले मेहनत गरेकाे छ, त्याे प्रशंसा गर्न लायक छ । फिल्ममा प्रयोग गरिएको प्रप्सदेखि पात्रहरुले लगाएको पहिरन सम्मले उक्त समयमा दर्शकलाई लैजान मद्दत गर्छ ।

प्रहरीले लगाएको खैरो लुगा र राताे टोपी होस् या रेडियोले पढिरहने समाचार, उक्त समयमा लैजान मद्दत पुर्याउने प्रप्सहरु हुन् । उ बेलामा प्रहरीलाई खैरे भनेर बाेलाउँथे, फिल्म हेर्दा छेउमा बसेका एक अधवैंशे पुरूष ‘नाेष्टाल्जिक’ भएकाे क्षण राेचक थियाे । 🤭

फिल्ममा बोलीको लवजले कुन प्रदेश र स्थानकाे कथा भनेकाे हाे, त्याे प्रष्ट पारेकाे छ, यो पनि शसक्त पक्ष हो ।

फिल्ममा बिम्बबाट कथा भन्न खोजिनु अर्को गज्जवको कुरा लाग्याे। प्रेम सुरु हुँदा होस् या प्रेममा केहि उदारचढाव आउँदा, त्यहाँ देखाइएको बन्सो (हाम्राे ठाउँमा फिल्ममा देखाइएको फूललाई बन्सो भन्ने चलन छ, यो फूल मन्दिरमा चढ्दैन भन्ने मान्यता पनि छ ।) फूल शिरमा लगाउनेदेखि त्यसैसँग पात्रको यात्रा देखाउनु अर्को राम्रो पक्ष हो ।

कलाकारको अभिनय, ब्याकग्राउण्ड म्युजिक देखि हरेक कुराले आँखामा बिझाएन । राम्राे लाग्याे । फिल्म हेरून्जेल मज्जा आयो ।

डिस्क्लेमरः फिल्मको विद्यार्थी नभएकाले प्राविधिक कुरा खासै बुझ्दिनँ । त्यसैले यसलाई अन्याथा नलिइदिनुहोला  🤭

अब कुरा गरौं मैले बुझ्ने कुरा अर्थात पटकथाको बारेमा ।

फिल्ममा अन्य राजनितीक फिल्म भनेकाहरूले भन्दा फरक काेणकाे कथा प्रस्तुत गरेकाे छ । क्रान्ती कुनैपनि खराब हैन, तर त्यहाँ पुगेका मानिसहरूका कारण खराब हुन पुगेकाे हाे भन्ने फिल्मले देखाएकाे छ । याे राम्राे लाग्याे ।

तर फिल्ममा समस्या धेरै छ । समस्या सुरू गराैं एक फरक प्रसंगवाट ।

तपाईले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठले निर्माण तथा अभिनय गरेको फिल्म कोहिनुर त पक्कै हेर्नुभयो होला । यदि हेर्नुभएको छैन भने अहिले युट्युवमा खोज्नु भए सजिलै हेर्न सकिन्छ ।

कोहिनुर फिल्ममा भारतको वेश्यालयमा बेचिएकी चेलीको नेपाल यात्रा देखाइएको छ । तर उनि वेश्यालयमा बेचिएपनि कुमारी छिन् । उनको कुमारित्व अर्थात शरिरमा अरु मान्छेले खेलेका छैनन् भन्ने देखाउन फिल्ममा गरिएको मेहनत हेर्नलायक छ । यसको अर्थ, धेरैजनासँग शारिरीक सम्पर्क राखेकी महिला हिरोको प्रेमिका कसरी बन्न सक्छे भन्ने मानसिकता हावी हुनु हो । तर यसकाे ठीक उल्टाे  फिल्ममा हिरो  भने जति नै महिलाहरुसँग शारिरीक सम्पर्क राखेपनि हिरोनी भने पाएरै छाड्छ है  🤣।

पुजार सार्कीको प्रसंगमा किन कोहिनुर घुसाइयो भनेर सोचिरहनुभएको होला हैन ? यसको कारण छ ।

फिल्म पुजार सार्की पनि यस्तै मनसिकताको सिकार बन्न पुगेको छ । गोरो, सुन्दर, सलक्क परेकाे प्रदिप खड्का जस्तो हिरो, कसरी दलित बन्न सक्छ ? यो स्वीकार्य भएको छैन फिल्म निर्माण टोलीलाई ।

त्यसैले त मैतबहादुरलाई दलित बनाउन गाह्रो भएको छ, फिल्ममा । उसलाई चौतारोमा भेटिएको बनाइएको छ । फिल्ममै पनि मैतबहादुरलाई बारम्बार बोलाइएको छ, यस्तो सुन्दर, सलक्क परेकाे, गोरो छु, कुनै बाहुन या क्षेत्रीको रगत हुनपर्छ, दलितको घरमा हुर्केकाले मगरले छोरी नदिने भए ।

दलितको रगत त्यस्तो हुन्छ र, जसलाई मुख्य भुमिकामा कलाकार त परै जाओस् पात्रमा समेत स्थान नै दिन नसकियोस् ? जसलाई हिरो बनाउनै नसकियोस् ? यो प्रश्न फिल्मका लेखकलाई ।

फिल्मलाई लिएर सायद पहिलेदेखि नै पक्षपाती भएँ कि ! पटकथामा समस्या छ जस्ताे ट्रेलर हेर्दा नै लागिरहेकाे थियाे । जुन यसअघि कुराकानीमै प्रकाशित ट्रेलर समीक्षामा पनि पढ्न पाइन्छ । नभन्दै कथामा समस्या देखें 😥 ।

सामाजिक कथामा फिल्म बनाउँदा,  अझै कुनै समुदायमा लक्षित कथा उठान गर्दा सम्बन्धित समुदायले अपनत्व महसुस गर्ने गरेर कथा भन्नुपर्छ । याे मैले भनेकाे हैन, फिल्मका विज्ञहरूले भन्ने कुरा हुन् । तर फिल्म पुजार सार्की हेरिरहँदा यसले सम्बन्धित समुदायमाथी न्याय गरेकाे भान भएन ।

फिल्ममा महिला कलाकार, जसकाे कारण फिल्मकाे नामाकरण भएकाे छ, उनकाे दृश्य सकेजति छाेटाे बनाइएकाे छ । उनै माथी केहि फुटेज खर्च गरेकाे भएपनि चित्त बुझाउने बाटाे हुनेथियाे ।

फिल्ममा दमै पात्र वलिया हाे, उनिहरूकाे बाजा अर्थात हतियार दमाहा शक्तिशाली छ, तर तिमीहरू नै शक्ति हुँदाहुँदै आफै दलित भएका हाै भन्ने भाष्य नजानिँदाे पाराले लादिएकाे छ ।

जतिखेरै शास्त्रमा जात छैन भनिएकाे छ तर नेपाली समाज किन र कसरी जात व्यवस्थामा जकडियाे भन्ने असली र चित्तबुझ्दाे उत्तर दिन सकेकाे छैन । अहिले त मानिसहरू पढेलेखेका छन्, तर २०८१ सालसम्म आइपुग्दा समेत याे किन हट्न सकेन त ? कुराे शास्त्रमा मात्रै अल्झेकाे हैन रहेछ भन्ने कुरा फिल्म निर्माण गर्नेहरूले नबुझेकाे हाे कि, बुझाउन नसकेकाे हाे, अलमल्ल् परियाे 😟 ।

जे हाेस् समस्याका बाबजुद फिल्म हेर्न लायक बनेकाे छ । अन्य फिल्म भन्दा यसले केहि हदसम्म दर्शकलाई साेच्न बाध्य बनाउँछ ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology