फिल्म समीक्षा

फर्कि फर्किः संस्कृति र मौलिकताकाे अलमल

फर्कि फर्किः संस्कृति र मौलिकताकाे अलमल

नेपालमा पनि टाइम लुपको कथामा फिल्म बन्नु सानो कुरा हैन । बस्, फिल्ममा इमोसनको तड्का अलि गज्जवसँग लाग्थ्यो भने, फिल्म बबाल बन्ने थियो ।

  • कुराकानी

  • बुधबार, जेष्ठ १६, २०८१

  • 329
    SHARES
फर्कि फर्किः संस्कृति र मौलिकताकाे अलमल

कुराकानी । महिलालाई भोग्य बस्तु मान्ने, क्लवमा रमाउने, कसैले भनेको नमान्ने, सधैं अरुलाई हेप्ने, कसैको दुःख नबुझ्ने एक लक्का जवान जो विमा कम्पनीको प्रवन्ध निर्देशक हो ।

अनि सुधारको कुनै संकेत नदेखिएको घामड म्याड्डी र उसको निकै सोझो संस्कारी साथीले सुधारका लागि गरेको कामना / प्रार्थनाले उत्पन्न द्वन्द्वको दृश्य कथा हो फिल्म फर्कि फर्कि ।

गल्ती नसुधारेसम्म कुनै एक समयमा कैद हुने परिस्थितीका कारण पात्रहरुमा के कस्ता उतारचढाव सिर्जना होला त, त्यसका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ । यतिबेला विश्वभरका हलहरुमा फिल्म चलिरहेको छ है त ।

नेपाली फिल्म उद्योग उर्फ ‘सिनेमाण्डु’ (नयाँ नाम पनि थाहा भएकाले राख्दिहालौं न हैन ! 😜) मा अहिलेसम्म नभनेको कथालाई उजागर गरेको छ यो फिल्मले । अझै महत्वपूर्ण कुरा, यसले युवा र किशोरावस्थाका दर्शकलाई लक्षित गरेर फिल्म बनाएको छ । लक्षित बर्गलाई अनुशन्धान नै नगरी बनेका फिल्म र यसमा पक्कै फरक त हुने नै भयो ।

फिल्मको सकारात्मक पाटोको कुरा गर्दा, यसको कथा र कथ्य शैलीमा भएको नौलोपना गज्जव छ । युवापुस्ताको कल्पनालाई फिल्मले देखाएको छ । घरमा एक छाक खान धौधौ किन नहोस्, कल्पनामा त हामी आफुलाई सेख नै सम्झन्छौं नि हैन त । अनि अहिलेको पुस्ताले खोज्ने स्वतन्त्रता पनि फिल्ममा युवालाई आकर्षण गर्ने कडी हो जस्तो लाग्छ ।

फिल्ममा भएका सबै कलाकारका अभिनयले आँखा बिझाएनन् तर अझै मौलिक बनाउने ठाउँहरु भने प्रसस्त थिए ।
फिल्मको खिचाई अर्को आकर्षक पक्ष हो । फर्कि फर्कि एकै ठाउँमा पुगेको देखाउँदा जसरी क्यामरा चलाइएको छ, त्यो राम्रो लाग्यो । दृश्य भाषामा कथा भन्न सफल छ फिल्म ।

डिस्क्लेमरः यी प्राविधिक कुरा, फिल्मको विद्यार्थी नभएकाले खासै नजानिँदो रहेछ । माथीका कुरा आँखालाई अनुभूति भएको आधारमा मात्रै लेखिएका हुन् ।

अब पालो भएको छ, बुझ्ने कुराको ।

फिल्मको पटकथाबारे समीक्षा गर्दा, कहीँ कतै भने नेपाली फिल्म हेर्न भनेर कोरियन ड्रामाको सो लागिरहेको ठाउँतिर पो छिरेछु कि भन्ने पनि महसुस हुन्छ । किनभने फिल्ममा प्रयोग गरिएका फेन्सी क्राफ्ट देखि बोलिएका संवादसम्मै त्यसैको झल्को आउँछ ।

फिल्ममा कुनै दृश्यमा रामेन खाने निमन्त्रणा दिइएको छ । त्यसैले यसबारे पनि थोरै बताइहालुँ । रामेन एक प्रकारको चाउचाउ हो । तर कोरियन ड्रामाका अनुसार, रामेन खाउँ भन्नुको अर्थ आफ्नो व्यक्तिगत स्पेस अर्थात कोठामा आमन्त्रणका लागि निम्तो दिनु हो ।
नेपाली संस्कारमा अझैसम्म रामेन खान बोलाउने चलन बसिसकेको छैन ।

नेपालीहरु संयुक्त परिवारमा बस्ने भएकाले पनि केटा या केटी साथीलाई सजिलै घरमा आमन्त्रण गर्न सकिँदैन । यो संस्कार भनेको युवा अवस्थामा पुगेपछि आमाबाबुबाट टाढा बस्ने छोराछोरी भएको देशका लागि हो ।

त्यस्तै, स्वयंवरको समयमा बेहुला र बेहुलीको चुम्बन दृश्य पनि चाइनिज, थाइ, कोरियन ड्रामाहरुमा देख्न पाइन्छ । नेपाली संस्कार अनुसार त विवाह विधी पुरा नभएसम्म एक अर्कालाई हेर्न पनि हुँदैन भन्ने हो, खैर समय अनुसार यसमा पनि परिवर्तन हुँदै जाला फिल्मले देखाएजस्तै 😀

एक नेपाली भाषाबिज्ञले भनेका थिए, म भात खान्छु लाई आइ राइस इट भन्यो भने त्यो नेपाली हो किनभने यसमा नेपाली ब्याकरण छ । तर आइ इट राइसलाई नेपाली भन्दै म खान्छु भात भन्ने चलन अहिले बढ्दै गइरहेको छ ।

हो, फिल्ममा पनि यस्तै प्रकारका नेपाली भन्दै नमिलेका बिदेशी संस्कार र संस्कृति मिसाइएको छ । यो स्वीकार योग्य भने हुँदै होइन ।

यी कुरा किन पनि भन्न आवश्यक रह्यो भने, फिल्मको स्टोरीलाइन हिन्दु संस्कारसँग जोडिएको छ । हिन्दु धर्मको आस्था पिपलको बोट, पुर्णिमाको रात मात्रै हैन भगवान समेत पृथ्वीमा ओर्लिएका छन् । त्यहि पुर्णिमाको रातमा साथीले मागेको आर्शिवादले नै त म्याड्डी समयको जालोमा फसेको हो । त्यसैले पाश्चात्य र पुर्विय संस्कृति मिसाउँदा फिल्म हेर्ने नयाँ पुस्ता अलमलमा पर्लान् भन्ने मात्रै हो 😝

त्यस्तै, फिल्ममा समयको फन्दामा म्याड्डी कस्तो अवस्थामा पर्छ भन्ने समेत प्रष्टसँग देखाउन सकेको छैन । जसले गर्दा दर्शक अन्योलमा पर्छन् ।

उ इन्टेन्सन राखेर गरेको गल्तीले लुपमा फस्दैन । उदाहरणका लागि, एक दृश्यमा म्याड्डीले साथीलाई आफुले भोग्नुपरेको टाइम लुपका बारेमा बताइरहेको हुन्छ । पृष्ठभुमिमा एक खेलको बेट (बाजी) चलिरहेको हुन्छ ।

म्याड्डीले आफ्नो टाइम लुपको प्रयोग गरेर बाजी जित्ने प्रपन्चका साथ गल्ती गर्छ । तर त्यो इन्टेन्सन (मनासय) भएकाले उ लुपमा जाँदैन । तर भीरबाट खसेकी साथी बचाउने चक्करमा उसले इन्टेन्सन (मनासय) राखेर हाम फाल्न खोज्दा भने बाँचिरहन्छ ।

हट एयर बेलुनबाट जानीबुझी मजाक गरेर साथीलाई फाल्दा या आफै हाम फाल्दा पनि उसलाई केहि हुँदैन । कारलाई आकाशमा उडाउँदा होस् या सडकमा अराजक गतिविधी गर्दा होस् इन्टेन्सन (मनासय) का साथ गरेपनि उ बाँचिरहन्छ । जसले गर्दा खास कारण के हो त उ लुपमा अल्झने प्रष्ट हुन सकेको छैन ।

जे होस्, फिल्म नौलो स्वादको बनेको छ । नेपालमा पनि टाइम लुपको कथामा फिल्म बन्नु सानो कुरा हैन । बस्, फिल्ममा इमोसनको तड्का अलि गज्जवसँग लाग्थ्यो भने, फिल्म बबाल बन्ने थियो ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology