नाटक समीक्षा

Play द सिस्टमः कार्यस्थलकाे असली रूप देखाउने नाटक

Play द सिस्टमः कार्यस्थलकाे असली रूप देखाउने नाटक

नाटकले महिला कसरी नर्मेटिभ कन्फरमिटी अर्थात समाजको विचार अनुसार मानसिक स्वीकृतिको सिकार बन्छन् भन्ने पनि देखाइएको छ ।

  • कुराकानी

  • बुधबार, असार १३, २०८१

  • 924
    SHARES
Play द सिस्टमः कार्यस्थलकाे असली रूप देखाउने नाटक

कुराकानी । नमिता र चाहना, एक आर्किटेक इन्जिनियरिङ कम्पनीमा काम गर्छन् । सम्पुर्ण कार्यलयभर यी दुइजना मात्रै महिला कर्मचारी छन् ।

चाहनाले यस कम्पनीमा काम गर्न थालेको तीन बर्ष भइसक्यो भने नमिताको बल्ल ६ महिना पुग्दैछ ।

चाहनाले कार्यलयको उतारचढाव तीन बर्षदेखि देख्दै आएकी छन् । त्यसैले कम्पनीमा जागिर खाइरहन, अझ भनौ टिकिरहन के कस्ता गतिविधी गर्नुपर्छ, उनलाई राम्रोसँग थाहा छ । किनभने उनले के कारण महिला कर्मचारी निकालिन्छन्, या निस्कन्छन् त्यो नजिकबाट नियालिरहेकी छन् । उनको फर्मुला नै ‘एनि हाउ जागिर जोगाउ, हाकिम खुुसी बनाउ’ भन्ने हो ।

नमिता भने चाहना भन्दा ठिक उल्टो स्वभावकी छिन् । उनि चित्त नबुझेको कुरामा प्वाक्क बोलिहाल्छिन् । महिला भएकाले हैन, ट्यालेन्टको हिसावले जागिर खाएकोमा उनि गर्व र घमण्ड दुवै गर्छिन् ।

यी दुइले काम गर्ने क्रममा आफ्ना पुरुष सहकर्मी र हाकिमसँग कसरी सहकार्य गर्लान्, काम गर्ने क्रममा के कस्ता पापड बेल्लान्, थाहा पाउन नाटक हेर्नुहोला ।

तपाईं कुनै कम्पनीको हाकिम हुनुहुन्छ या कर्मचारी । यो नाटकले तपाइको कथा भन्नेछ । फरक यत्ति हो, नाटक हेरिसकेपछि, कसैलाई यसले सचेत गराउला त कसैलाई आफैले भोगेको-भोगिरहेको जीवनसँग साक्षत्कार गराउला ।

नाटक ‘play द सिस्टम’ टेकुमा अवस्थित कथा घेराद्वारा सञ्चालित कौशी थियटरमा यतिबेला मञ्चन भइरहेको छ । मंगलबार भने थियटरको बिदा हो, त्यसैले अन्य बारहरुमा मात्र तपाइले ‘paly द सिस्टम’ का आर्किटेक्चर कमर्चचारीहरुलाई भेट्न सक्नुहुनेछ ।

नाटकले हँसाउँदै गम्भिर विषयमा दर्शकलाई लैजान सफल छ । यो नै नाटकको सशक्त पक्ष हो ।

नाटकले कतिपय आफुलाई महिलावादी भन्नेहरु पनि कसरी ‘नर्मेटिभ कन्फरमिटी’ अर्थात समाजको विचार अनुसार मानसिक स्वीकृतिको सिकार बन्छन् भन्ने पनि देखाइएको छ ।

हामी केटी भएपछि सपिङ जानुपर्छ, केटाहरुले जे भन्यो त्यसमा टाउको हल्लाउनुपर्छ । उनिहरुलाई वशमा पार्ने कडी भनेकै सुन्दता र निर्दोषपना हो आदि जस्ता सोचाई कहाँबाट कसरी आउँछ र यसको सिकार उनिहरु कसरी हुन्छन् भन्नेपनि नाटकमा देखाइएको छ ।

त्यस्तै, आवरणमा म पनि ‘फेमिनिष्ट’ हो नि भन्ने र भित्रभित्र पितृसत्ताको दुर्गन्ध आउने तपाईका साथी/सहकर्मीहरुको गन्धलाई पनि नाटकले जस्ताको तस्तै उतारेको छ ।

कार्यलयको कोठामा दुई महिला कर्मचारी झगडा गर्दा, त्यसले पुरुष सहकर्मीहरुमा पारेको खुशी ओहो ! सायद तपाइले भोगेर आउनुभएकै कथा नाटकले देखाएको हो ।

नाटकले कथालाई जसरी अगाडी बढाएको छ, यसले दर्शकलाई गज्जवसँग बाँध्छ र हरेकचोटी पर्दा परिवर्तन हुँदा जोडजोडले ताली बजाउन मनलाग्छ, नाटक छिट्टो सकिएकोजस्तो अनुभूति हुन्छ । नाटक सकिसक्दा समेत दर्शकलाई बसेको ठाउँबाट उठ्न मन लाग्दैन । यसका लागि नाटक निर्देशक आकांक्षा कार्कीलाई धन्यवाद दिनैपर्छ ।

अर्को धन्यवाद पनि आकांक्षालाई, एक गम्भिर र अहिलेसम्म नजरअन्दाजमा परेको विषयमा नाटक तयार पारेकोमा ।

यौन हिंसाको बारेमा धेरथोर आवाज उठ्न थालेको छ आजभोली । तर कार्यस्थलमा हुने हिंसाको बारेमा कमैले मात्रै बोलेका छन् ।

अहिलेका नयाँ पुस्ताकको सोचाइमा पनि हिंसा भन्ने वित्तिकै यौन मात्रै बुझ्ने चलन छ । कार्यस्थलमा हुने या भइरहेका हिंसालाई सामान्य तरिकाले लिने चलन छ । यस्ता हिंसालाई काम गर्न नआएकोले सिकाउँदा हिंसा महसुस गरेको या कमजोरी स्वीकार्न नसकेर या भिक्टिम कार्ड प्ले गरेर जागिर खान लागेको जस्ता भनाइले व्याख्या गर्ने चलन छ ।

साना ठुला युद्ध लडेर कार्यस्थलसम्म पुगेका महिला कर्मचारीहरु काम गर्ने ठाउँमा पनि जानेर या नजानेर विभिन्न किसिमका हिंसाको सिकार भइरहेका हुन्छन् । नाटक यस्ता तमाम हिंस्रक जो थाहा पाएर या नपाएर सँगै काम गर्ने कर्मचारीलाई दुर्व्यावहार गर्न बानी परेका छन्, उनिहरुप्रति सर्मपित छ ।

नाटकको सेट डिजाइन सामान्य छ, तर एकदमै शक्तिशाली छ । जम्मा चारओटा कोठा देखाइएको छ । एकमा हाकिम बस्छन्, जुन सबैभन्दा माथिल्लो स्थानमा छ । फ्रन्टमा सबैले देख्ने ठाउँमा चाहनाको कोठा छ । दुई पुरुष कर्मचारीलाई हाकिमको कोठामा चाकडी गर्नै फुर्सत छैन त्यसैले उनिहरुको काम गर्ने कोठा नै छैन । बीचमा बैठक हल छ र अँध्यारो कुनामा नमिताको कोठा छ ।

पहिलो दिनको प्रिमियर सो हेरेकाले पनि होला, लाइटिङमा भने केहि समस्या देखिएको थियो । आशा छ, त्यो अहिले एक हप्ता यता आइसक्दा सुधार भइसकेको छ । अभिनयको त कुरै नगरौं, हरेक पात्रले तपाइको सहकर्मी र आफुले भोगेका हिंसाको याद दिलाउँछ ।

सबैका हाकिम कार्यलयमा रक्सी पिउने खालका भने हुँदैनन् । सायद कार्यलय समयमा नेपाली समाजमा रक्सी पिउने चलन कम छ या छैन । बरू कार्यलय समय सकिएपछि भट्टीमा बसेर लाेकल रक्सी पिउँदै महिला कर्मचारीकाे कुरा काट्ने परिपाटी भने हरेक कार्यलयकाे नियती हाे । यी कुरामा पनि थाेरै ध्यान दिन सकेकाे भए, नाटक सबै कार्यलयकाे कथा बन्नेथियाे ।

समग्रमा नाटक हेर्नलायक बनेको छ । अझ भनौं छुटाउनै नहुने बनेको छ । रमाइलो ढंगले नेपाली समाजमा खट्किएको बिषय नाटकले उठाएको छ । मंञ्चन सकिनु अगावै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोला है त ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology