खेल कमेन्ट्री

सुरुवातमै अफ्रिकी टोलीले पारे दुई युरोपेली शक्तिलाई अंक गुमाउन बाध्य !

सुरुवातमै अफ्रिकी टोलीले पारे दुई युरोपेली शक्तिलाई अंक गुमाउन बाध्य !

नयाँ भनिएका देशहरुले इतिहास आफ्नो पोल्टामा पार्ने क्रम जारी छ । यसैको उदाहरण बने सुरुवाती खेलका दुई देश, केप भर्डे र डीआर कंगो ।

  • कुराकानी

  • बिहिबार, असार ४, २०८३

  • 7
    SHARES
सुरुवातमै अफ्रिकी टोलीले पारे दुई युरोपेली शक्तिलाई अंक गुमाउन बाध्य !

कुराकानी । फिफा विश्वकप २०२६ मा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइयो ।

सन् १९९८ देखि २०२२ सम्म विश्वकप ३२ टोलीको ढाँचामा सञ्चालन भएको थियो। तर २०२६ देखि पहिलो पटक ४८ टोली सहभागी हुने नयाँ ढाँचा लागू गरियो ।

फलस्वरुप यसपटक डीआर कंगो, केप भर्डे, कुरासाओ, बोस्निया–हर्जेगोभिना, हैटी जस्ता टोलीहरूले पनि विश्वकप खेल्ने अवसर पाएका छन्।

देशको संख्या थपेकोबारे, अबको केहि दशकमा बिश्वकपमा हरेक टोलका फुटवल क्लव समेत अटाउने भन्दै आलोचना समेत भएको थियो ।

कमजोर देशहरुले खेल नै किरकिर बनाउने भन्ने अनुमान समेत गरिएका थिए ।

तर विभिन्न अनुमान र अपेक्षामा नयाँ भनिएका देशहरुले इतिहास आफ्नो पोल्टामा पार्ने क्रम जारी छ । यसैको उदाहरण बने सुरुवाती खेलका दुई देश, केप भर्डे र डीआर कंगो ।

रोनाल्डोको कीर्तिमान ओझेलमा, कंगोको इतिहास चम्कियो

फिफा विश्वकप २०२६ मा पोर्चुगलको सुरुवात अपेक्षाअनुसार भएन।

उपाधि दाबेदार टोलीमध्ये एक मानिएको पोर्चुगललाई ५२ बर्षपछि विश्वकप फर्किएको डीआर कंगोले १–१ को बराबरीमा रोक्दै प्रतियोगिताकै पहिलो ठूलो आश्चर्यमध्ये एक नतिजा निकाल्यो।

कंगोको विश्वकपमा यो पहिलो गोल हो । यसअघि सन् १९७४ मा जाइरे नामले यस देशले विश्वकप खेलेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो खेललाई पोर्चुगलको निराशा भन्दा पनि डीआर कंगोको ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गरेका छन्।

ह्युस्टनमा भएको खेलमा पोर्चुगलले सुरुवात भने सपनाजस्तै गरेको थियो। खेलको सातौं मिनेटमै जोआओ नेभेसले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

त्यसपछि धेरैले पोर्चुगलले सहज जित निकाल्ने अनुमान गरेका थिए। तर खेल जति अगाडि बढ्यो, पोर्चुगलको आक्रमण त्यति नै फितलो देखियो। बलमाथि नियन्त्रण राखे पनि उसले गोलका स्पष्ट अवसर सिर्जना गर्न सकेन।

पहिलो हाफको इन्जुरी समयमा डीआर कंगोले खेलको कथा नै बदलिदियो।

योयाने विस्साले गरेको हेडर गोल केवल बराबरी गोल मात्र थिएन, त्यो डीआर कंगोको विश्वकप इतिहासकै पहिलो गोल पनि बन्यो। त्यही गोलले अफ्रिकी टोलीलाई विश्वकपमा पहिलो अंक समेत दिलायो।

दोस्रो हाफमा पोर्चुगलले जितका लागि दबाब बढायो। तर डीआर कंगोको अनुशासित रक्षापङ्क्तिले युरोपेली टोलीका स्टार खेलाडीहरूलाई प्रभाव जमाउन दिएन। केही सञ्चारमाध्यमले त पोर्चुगलको खेललाई “धेरै बल, कम खतरा” भनेर वर्णन गरेका छन्।

सबैको नजर ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोमाथि थियो। उनले विश्वकपमा आफ्नो छैटौं सहभागिताको कीर्तिमान बनाए पनि मैदानमा प्रभावशाली प्रदर्शन गर्न सकेनन्। अन्तर्राष्ट्रिय मिडियाहरूले रोनाल्डोको फिक्का प्रदर्शन र पोर्चुगलको अत्यधिक निर्भरतामाथि प्रश्न उठाएका छन्।

खेल सकिँदा स्कोरबोर्डमा १–१ लेखिएको थियो। तर त्यो बराबरीको मूल्य दुवै टोलीका लागि फरक थियो। पोर्चुगलका लागि गुमाएको दुई अंक, डीआर कंगोका लागि जितसरहको एक अंक।

स्पेन र कोप भर्डेको ऐतिहासिक अपसेट खेल

स्पेन र केप भर्डेको खेल विश्वकप २०२६ को अहिलेसम्मकै सबैभन्दा ठूलो “अपसेट” मध्ये एक मानिएको छ। स्पेन ०–० को बराबरीमा रोकियो र केप भर्डेले विश्व फुटबललाई चकित पारिदियो।

खेलभरि स्पेनले बलमाथि नियन्त्रण राख्यो, लगातार आक्रमण गर्‍यो र २७ वटा प्रहारसमेत गर्‍यो। तर केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हा पर्खाल बनेर उभिए। उनले सातभन्दा बढी महत्वपूर्ण बचाउ गर्दै स्पेनका स्टार खेलाडीहरूलाई निराश बनाए।

अन्तर्राष्ट्रिय मिडियाले भोजिन्हालाई खेलको नायक घोषणा गर्‍यो।

रोचक कुरा के छ भने, खेल सकिएपछि सामाजिक सञ्जाल र फुटबल समुदायमा एउटा वाक्य निकै चर्चित बन्यो । स्कोर बराबरी भए पनि नैतिक र भावनात्मक जित केप भर्डेकै भयो भन्ने भावना धेरै समर्थकमा देखियो।

स्पेनका खेलाडीहरू बल घुमाइरहेका थिए, तर समय भने केप भर्डेको पक्षमा बगिरहेको थियो।

एकातिर युरोपियन च्याम्पियन, अर्कोतिर पाँच लाखभन्दा कम जनसंख्या भएको सानो टापु राष्ट्र। ९० मिनेटपछि स्कोरबोर्डमा गोल शून्य–शून्य थियो, तर उत्सव भने केप भर्डेले मनाइरहेको थियो।

विश्वकपमा पहिलो पटक उत्रिएको टोलीले उपाधि दाबेदार स्पेनको बाटो छेकिदिएको थियो। भोजिन्हाका हातले रोकेका बलहरू केवल प्रहार थिएनन्, ती केप भर्डेको फुटबल इतिहासमा लेखिएका सुनौला क्षण थिए।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology