कुराकानी। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा उपभोग गरेर पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको ‘अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति’ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो कडा निर्देशन दिएको हो।
बिदा स्वीकृत गराई अध्ययन पूरा गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी बीचैमा सेवा छाडेका शिक्षक र कर्मचारीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न भनिएको छ। तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी त्रिविले दिएको छ।

५० जनाबाट ११ करोडभन्दा बढी असुल
शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा सुरु भएको यस अभियानअन्तर्गत हालसम्म ठूलो रकम असुल भइसकेको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकिएको छ। बाँकी रहेका अन्य प्राध्यापक तथा कर्मचारीहरूबाट पनि रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने त्रिविले जनाएको छ।
सुविधाको दुरुपयोगले प्राज्ञिक क्षति
दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति तयार गर्ने उद्देश्यले शिक्षक-कर्मचारीहरूलाई अध्ययन बिदाको विशेष सुविधा प्रदान गरिने त्रिविले स्पष्ट पारेको छ। तर, केही प्राध्यापकहरूले यस सुविधाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि पनि सेवामा नफर्किएका कारण विश्वविद्यालयलाई ठूलो आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको ठहर छ।
सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नु सम्बन्धित प्राध्यापक र कर्मचारीको अनिवार्य कर्तव्य रहने स्मरण गराउँदै त्रिविले यस विषयलाई गम्भीरतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।