‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना: असार ५ गते खुलामञ्चबाट सुरु हुने

‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना: असार ५ गते खुलामञ्चबाट सुरु हुने

महोत्सवको स्थानीय तहमा व्यवस्थापन गर्नका लागि महानगरमा २० वटा प्रस्तावहरू दर्ता भएका थिए।

  • कुराकानी

  • बुधबार, असार ३, २०८३

  • 0
    SHARES
‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना: असार ५ गते खुलामञ्चबाट सुरु हुने

कुराकानी। काठमाडौँ महानगरपालिकाको आयोजनामा आगामी असार ५ गतेदेखि ‘टोलटोलमा फिल्म महोत्सव’ सुरु हुने भएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार उक्त महोत्सवको औपचारिक शुभारम्भ खुलामञ्चबाट गरिने कार्यक्रम तय भएको छ।

महोत्सवको स्थानीय तहमा व्यवस्थापन गर्नका लागि महानगरमा २० वटा प्रस्तावहरू दर्ता भएका थिए। तीमध्ये प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी ८ वटा संस्थाहरूलाई व्यवस्थापनको जिम्मा दिने गरी छनोट गरिएको छ भने ३ वटा संस्थालाई वैकल्पिक सूचीमा राखिएको छ। विभागका प्रमुख कुमारी राईका अनुसार प्रस्तावकहरूले पेश गरेको स्थान चयन, प्रस्तावित क्रियाकलाप र सो कार्यका लागि लाग्ने खर्च लगायतका सूचकमा दिइएको अंकभारका आधारमा यी संस्थाहरू छनोट गरिएका हुन्।

यस महोत्सव अवधिभर प्रदर्शन गरिने लघु चलचित्र तथा अन्य चलचित्रका लागि आवश्यक पर्ने एलइडी (LED) स्क्रिन, साउण्ड सिस्टम र क्युरेटर लगायतका प्राविधिक सहयोग महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले नै उपलब्ध गराउनेछ। स्थानीय स्तरको अन्य व्यवस्थापकीय जिम्मेवारी भने छनोट भएका सम्बन्धित संस्थाहरूले नै बहन गर्नुपर्नेछ।

असार महिनाभरि हरेक शुक्रबार र शनिबार आयोजना हुने यस महोत्सवको पहिलो दिन अर्थात् असार ५ गते खुलामञ्चमा हुने उद्घाटन कार्यक्रमको व्यवस्थापन ‘इकोज इन द भ्याली’ ले गर्नेछ। यसैगरी असार ६ गते असनमा हुने कार्यक्रमको व्यवस्थापन ‘नीलः सांस्कृतिक क्लब’ ले गर्ने जिम्मेवारी पाएको छ। अन्य क्षेत्रहरू अन्तर्गत बालाजु बाइपास क्षेत्रमा ‘येँःका पुचः’, बागबजार सडक खण्डमा ‘निर्णय नेपाल’, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा ‘नेपाल भाषा स्यनेकने फाउन्डेसन’, लगनटोलमा ‘न्हुग पःला सांस्कृतिक मिसा पुचः’ र मैतीदेवी मन्दिरको खुला चौरमा ‘मैतीदेवी युनाइटेड क्लब’ ले स्थानीय व्यवस्थापन सम्हाल्नेछन्।

महोत्सवका क्रममा सर्ट फिल्म तथा चलचित्रहरूको प्रदर्शन गरिनुका साथै कला, चलचित्र र रचनात्मक उद्योगका विविध आयामहरूमा केन्द्रित रहेर विशेष संवाद कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन्। यसका साथै स्थानीय स्तरमा सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिहरू समेत समावेश गरिने योजना रहेको छ। महानगरपालिकाले आगामी आर्थिक वर्षमा बृहत् रूपमा आयोजना गर्ने लक्ष्य राखेको ‘अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ को पूर्वतयारी र बलियो आधार निर्माण गर्नका लागि नै यो टोलटोलमा फिल्म महोत्सवको खाका ल्याइएको महानगरले जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology