कुराकानी । गोंगबुको एक होटलको शौचालयभित्र बन्दी बनेका १५ वर्षीय किशोरलाई थाहा थिएन, आफूले झ्यालबाट बाहिर फालेको सानो चिर्कटो कसको हातमा पर्छ। तर उनलाई यति विश्वास थियो, यदि त्यो कागज कुनै असल मानिसको हातमा पर्यो भने सायद आफू बाँच्न सक्छु।
चितवनको नारायणगढका १५ वर्षीय ती किशोर एसईई सकेर ११ कक्षाको तयारी गरिरहेका थिए। उनी सोमबार साँझ साथी भेट्न निस्किए। तर केही घण्टामै अपहरणकारीहरूको कब्जामा परे।
प्रहरीका अनुसार अपहरण ती किशोरका पुरानो मित्रको संलग्नतामा भएको थियो ।
भारतको बिहार निवासी सुजित कुमार केही वर्षअघि नारायणगढमै बस्थे। त्यही क्रममा उनी र ती किशोरबीच चिनजान भएको थियो। उमेरमा केही फरक भए पनि सम्बन्ध निकै नजिकको थियो। पछि सुजित भारत फर्किए, तर इन्स्टाग्राममार्फत उनीहरू सम्पर्कमा रहिरहे।
सोमबार पनि सामाजिक सञ्जालमै कुराकानी भयो। पुरानो साथीले भेट्न बोलायो। किशोर विश्वास गरेर भेट्न गए।
तर त्यो भेट मित्रताको होइन, अपहरणको जाल साबित भयो।
साँझ ६ बजेतिर नारायणगढमा भेट भएपछि सुजितसहितका पाँच जनाले किशोरलाई नियन्त्रणमा लिए। सुरुमा नारायणगढकै एक होटलमा राखियो। केही घण्टापछि भारतीय नम्बर प्लेटको गाडीमा राखेर काठमाडौं ल्याइयो। अन्ततः गोंगबुको एक होटलको कोठामा उनलाई बन्धक बनाइयो।
उता अपहरणकारीहरूले किशोरका बुवा कृष्ण गुप्तालाई ह्वाट्सएपमार्फत सम्पर्क गरे र मागे, २२ लाख रुपैयाँ फिरौती।
छोराको ज्यान जोखिममा पर्ने डरले परिवार तत्काल प्रहरीकहाँ जान सकेन। उनीहरू रकम बुझाएर छोरा फिर्ता ल्याउने आशामा थिए।
तर होटलको एउटा कोठाभित्र बन्दी बनेका किशोर भने आफू त्यहाँबाट बाहिर निस्कने उपाय खोजिरहेका थिए।
त्यसै क्रममा उनले एउटा कागजमा आफ्नो परिचय, बुवाको नाम र फोन नम्बर लेखे। अनि शौचालयको झ्यालबाट बाहिर फालिदिए।
भाग्यले साथ दियो।
चिर्कटो एक अपरिचितको हातमा पुग्यो। उनले त्यसलाई सामान्य कागज ठानेर फालेनन्। बरु प्रहरीसम्म पुर्याए।
त्यही सानो कागजले पूरै घटनाको दिशा बदलिदियो।
प्रहरीले चिर्कटोमा लेखिएको नम्बरमा फोन गर्यो। त्यसपछि मात्र किशोर साँच्चै अपहरणमा परेको पुष्टि भयो। सूचना पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सक्रिय बन्यो।
गोंगबुको होटलसम्म पुगेको प्रहरी टोलीले अपरेसन चलायो र मंगलबार साँझ किशोरलाई सकुशल उद्धार गरियो। अपहरणमा संलग्न पाँच भारतीय नागरिक पनि पक्राउ परे।
प्रहरीले पक्राउ परेकाहरूलाई भारतको बिहार राज्यका सुजित कुमार, गोलु कुमार, विक्की कुमार, मोहम्मद साहिद र गोलु कुमार सोनीको रूपमा पहिचान गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का भन्छन्, “अपहरणका घटनामा पीडितको ज्यान जोगाउँदै अपराधी पक्राउ गर्नु सबैभन्दा कठिन काम हो। सानो गल्तीले पनि ठूलो क्षति हुन सक्छ। यसपटक हामी दुवै काममा सफल भयौँ।”