कुराकानी। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको नेपाली फिल्म ‘लालीबजार’ सँग जोडिएको अदालती विवाद अझैँ टुंगोमा पुगेको छैन । उच्च अदालत पाटनमा चलिरहेको सुनुवाइमा फिल्मको इजलासमै सफ्ट कपी हेर्ने प्रक्रिया जारी छ ।
न्यायाधीश टंकप्रसाद गुरुङ र अच्युत कुइँकेल ले निर्माण पक्षले अदालतमा बुझाएको सफ्ट कपी हेरी विवादको पक्ष–विपक्षको दावी सुनिरहेका छन् । अदालतको सोही प्रक्रिया अहिले पनि जारी छ र फिल्म हेरेर नै अन्तरिम आदेश जारी गर्ने वा नदिन निर्णय गरिने तयारीमा छ ।
निर्माण पक्षले फिल्मको प्रमोसनको बेला अदालतमा उपस्थित हुनुपर्ने भएकाले टिममा मानसिक तनाव बढेको बताएको छ भने, अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराईसहित सिंगो टीम अदालत परिसरमै उपस्थित छन् ।
यो विवाद रोशनी वादी नेपालीले दायर गरेको रिटबाट सुरु भएको हो । वादी पक्षले फिल्मले वादी समुदायको पहिचान र इतिहासलाई गलत ढंगले चित्रण गरेको आरोप लगाएका थिए । अदालतले हिजो प्रमाण मिसिल झिकाउने र फिल्मको सफ्ट कपी इजलासमै देखाएर फिर्ता लैजाने निर्देशन दिइसकेको छ ।
फिल्म विवादकै बीच अहिले पनि हलहरूमा प्रदर्शन भइरहेको छ । बक्स अफिसका आन्तरिक तथ्यांकअनुसार ‘लालीबजार’ले ५ करोड ७६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको देखिएको छ ।