कुराकानी। काठमाडौँ महानगरपालिकाले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने उद्देश्यले ‘टोलटोलमा फिल्म महोत्सव’ (फिल्म फेस्टिभल) सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो।
महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि महानगरले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक संघसंस्थाहरू, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, र सांस्कृतिक समूहहरूबाट खुला प्रस्ताव आह्वान गरेको छ। इच्छुक संस्थाहरूले जेठ २७ गते राति १२ बजेभित्र महानगरपालिकाको वेबसाइटमार्फत प्रस्ताव पेस गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
खुला स्थानमा निःशुल्क प्रदर्शन र प्राविधिक सहयोग
महानगरपालिकाका अनुसार छनोट भएका संघसंस्थाहरूले तोकिएको सर्त, सीमा, मिति र स्थानमा निःशुल्क चलचित्र प्रदर्शन गर्नुपर्नेछ। चलचित्र प्रदर्शनका लागि परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथियटर तथा पार्कजस्ता खुला स्थानहरू तय गरिएका छन्।
महोत्सवका लागि क्युरेटेड फिल्म (छनोट गरिएका चलचित्र) का साथै एलइडी (LED) र साउन्ड सिस्टमसहितको आवश्यक प्राविधिक उपकरण र कार्यक्रम सञ्चालन सहयोग महानगरपालिका आफैँले उपलब्ध गराउने विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो।
फिल्मलाई रचनात्मक उद्योगका रूपमा विकास गरिने
सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले फिल्मलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई शिक्षा, सूचना, र सन्देशको संवाहकका रूपमा बुझाउन आवश्यक रहेको बताउनुभयो। उहाँले भने, “फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराएर यसको विकास र विस्तारमा योगदान दिने महानगरको लक्ष्य छ।”
नियमनका लागि उच्चस्तरीय समिति गठन
महोत्सवमा प्रदर्शन गरिने चलचित्रको गुणस्तर, विषयवस्तु र प्रस्तुतीकरणको अनुगमन तथा नियमन गर्न संयोजक आशामान संगतको नेतृत्वमा एक समिति गठन गरिएको छ।
समितिमा वडा नं. १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका सदस्य न्हुच्छेकाजी महर्जन, सम्पदा तथा पर्यटन विभागका प्रमुख, चलचित्र विकास बोर्ड, नेपाल फिल्म एकेडेमी, युनेस्को नेपाल, किम्फ फाउन्डेसन, चलचित्र निर्देशक समाज, महानगरपालिकाको सूचना प्रविधि विभाग र कार्यवाहक प्रमुखको सचिवालयका प्रतिनिधिहरू सदस्य रहेका छन्।