कुराकानी। चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक भएपछि सुरु भएको विवाद अन्ततः माफी र गीत हटाउने निर्णयमा पुगेको छ। निर्माण कम्पनी आयंका फिल्म्स र अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले सार्वजनिक रूपमा क्षमायाचना गर्दै विवादित गीत हटाएका छन्।
निर्माण पक्षले उक्त गीत चलचित्रको मूल कथाको हिस्सा नभई प्रचारका लागि मात्र तयार गरिएको सामग्री भएको स्पष्ट पारेको छ। शिक्षक समुदाय वा शिक्षण पेसाको सम्मानमा चोट पुर्याउने उद्देश्य नरहेको बताउँदै गीत सार्वजनिक प्लेटफर्मबाट हटाइएको जानकारी दिएको हो।

प्रियंका कार्कीले पनि वक्तव्य जारी गर्दै गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक तथा दर्शकको भावनामा असर परेको स्वीकार गरेकी छन्। उनले आफू र आफ्नो टिमको तर्फबाट माफी माग्दै आगामी दिनमा सिर्जनात्मक काम गर्दा अझ जिम्मेवार र संवेदनशील बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
तर यो विवादले एउटा प्रश्न भने फेरि उठाएको छ– मनोरञ्जनका नाममा गरिने सिर्जनात्मक स्वतन्त्रताको सीमा कहाँसम्म हुन्छ? समाजका विभिन्न वर्ग र पेशालाई प्रस्तुत गर्दा कलाकार र निर्माण पक्षले कति संवेदनशीलता अपनाउनुपर्छ?
नेपाल शिक्षक महासंघको आपत्तिदेखि सञ्चार मन्त्रालयमा परेको निवेदनसम्म पुगेको यो घटनाले चलचित्र प्रचारमा प्रयोग हुने सामग्रीप्रति पनि गम्भीर बहस सुरु गराएको छ। अब ‘मास्टर्नी’ विवादले उठाएका प्रश्नको जवाफ केवल गीत हटाएर होइन, आगामी सिर्जनामा देखिने जिम्मेवारीले दिनेछ।