छोरीले कलेजो दिएर बाबुलाई नयाँ जीवन, किस्ट ट्रान्सप्लान्ट सेन्टरको १७औँ सफल प्रत्यारोपण

छोरीले कलेजो दिएर बाबुलाई नयाँ जीवन, किस्ट ट्रान्सप्लान्ट सेन्टरको १७औँ सफल प्रत्यारोपण

  • कुराकानी

  • मङ्लबार, साउन ५, २०८३

  • 1
    SHARES
छोरीले कलेजो दिएर बाबुलाई नयाँ जीवन, किस्ट ट्रान्सप्लान्ट सेन्टरको १७औँ सफल प्रत्यारोपण

ललितपुरस्थित किस्ट शिक्षण अस्पतालअन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ।

बाँकेको कोहलपुरका ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि गरिएको प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ। वि.सं. २०८३ असार १५ गते सम्पन्न शल्यक्रियापछि दाता र ग्राही दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र उपचारपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

अस्पतालका अनुसार यो प्रत्यारोपण आधुनिक चिकित्सा प्रविधिको सफलतासँगै परिवारको निस्वार्थ प्रेम, त्याग र समर्पणको प्रेरणादायी उदाहरण बनेको छ।

यससँगै किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी स्वास्थ्य क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गर्दै नेपालको प्रत्यारोपण सेवामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली, अनुभवी प्रत्यारोपण विशेषज्ञहरूको टोली तथा बहुविशेषज्ञीय उपचार पद्धतिका कारण अस्पताल प्रत्यारोपण सेवामा विश्वासिलो केन्द्र बन्दै गएको अस्पतालको दाबी छ।

अस्पताल व्यवस्थापनले सफल प्रत्यारोपणमा संलग्न प्रत्यारोपण विशेषज्ञ, बेहोस पार्ने चिकित्सक, नर्सिङ टोली, सघन उपचार कक्ष, प्रयोगशाला, रक्त बैंकलगायत सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेको छ। साथै, बाबुको जीवन बचाउन कलेजो दान गर्ने छोरीको साहस, प्रेम र मानवताप्रतिको समर्पण समाजका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गरेको छ।

किस्ट शिक्षण अस्पतालले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत नेपालमै सुरक्षित, गुणस्तरीय तथा सहज पहुँचयोग्य कलेजो र मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्दै स्वास्थ्य सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology