कुराकानी। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला–पुरुषबीच विभाजन गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिम सम्बोधन गर्न ल्याइएको व्यवस्था भएको बताएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार, भीडभाड र असुरक्षाको अवस्थालाई ध्यानमा राखेर ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन्।
उनले ‘ब्लु बस’ ले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन नगर्ने र महिलालाई अन्य सार्वजनिक सवारी प्रयोग गर्न कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन्।
मन्त्री बादीले समानताको अर्थ सबैलाई एउटै व्यवहार गर्नु मात्र नभई विशेष जोखिममा रहेका समूहलाई आवश्यक संरक्षण र सुविधा उपलब्ध गराउनु पनि भएको उल्लेख गर्दै यही संवैधानिक मान्यताअनुसार कार्यक्रम अघि बढाइएको बताइन्।
सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग–अलग यात्रा गराउनु नभई सबै नागरिकले एउटै सार्वजनिक यातायातमा सुरक्षित र सम्मानजनक रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको उनको भनाइ थियो। त्यसका लागि तत्काल महिलाको सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवा र सार्वजनिक यातायात प्रणालीको सुधारलाई सँगसँगै अघि बढाइने उनले बताइन्।
गर्भवती महिला, साना बालबालिकासहित यात्रा गर्ने आमा, ज्येष्ठ महिला तथा अपाङ्गता भएका महिलाले सार्वजनिक यातायातमा बढी कठिनाइ भोग्ने भएकाले उनीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न पनि ‘ब्लु बस’ आवश्यक रहेको मन्त्री बादीको भनाइ थियो।
उनले सार्वजनिक यातायातलाई सुरक्षित र लैङ्गिकमैत्री बनाउन सवारीमा CCTV र ड्यासक्याम जडान, राइड सेयरिङ सेवामा SOS बटन, प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली, चालक–सहचालकलाई लैङ्गिक संवेदनशीलतासम्बन्धी तालिम तथा लैङ्गिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयनलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन्।
मन्त्री बादीले ‘ब्लु बस’ सेवा महिलालाई सार्वजनिक जीवनबाट अलग गर्ने उद्देश्यले नभई उनीहरूको सुरक्षित, सम्मानजनक र सहज आवागमन सुनिश्चित गर्ने व्यावहारिक उपायका रूपमा अघि सारिएको दोहोर्याइन्।