बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी

बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको टेलिकमले जनाएको छ।

  • कुराकानी

  • बुधबार, साउन २७, २०८३

  • 0
    SHARES
बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी

कुराकानी। बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत करिब चार हजार किलोग्राम उपकरण तथा आवश्यक सामग्री पुर्‍याएको छ।

भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण लैजान कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गत साउन ८ गते बडीमालिकामा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि प्रक्रिया अघि बढाउन नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। त्यसपछि मन्त्रालय र टेलिकमबीच समन्वय गरी उपकरण ढुवानी तथा जडानको काम अघि बढाइएको हो।

स्थलमार्गबाट उपकरण लैजान सम्भव नभएपछि हेलिकप्टरमार्फत सामग्री ढुवानीको व्यवस्था मिलाउन मन्त्री तिमिल्सिनाले निर्देशन दिएका थिए। उनले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग समेत छलफल गरी जडानस्थल, स्थानीय पूर्वाधार र स्थानीय तहबाट उपलब्ध हुन सक्ने सहयोगबारे जानकारी लिएका थिए।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण सामग्री ढुवानीमा ढिलाइ भएको हो। टेलिकमले साउन १८ गतेदेखि नै सामग्री बडीमालिका पुर्‍याउने प्रयास गरे पनि मौसम अनुकूल नभएपछि उडान हुन सकेको थिएन। मौसम खराब भएपछि जडानस्थलमा खटाइएको प्राविधिक टोलीसमेत फिर्ता बोलाउनुपरेको थियो।

हेलिकप्टरबाट सामग्री तोकिएको स्थानमा पुर्‍याइए पनि त्यहाँबाट जडानस्थलसम्म सामग्री जनशक्तिमार्फत बोकाएर लैजानुपर्ने अवस्था रहेको शर्माले बताए। उच्च हिमाली क्षेत्रमा उपकरणसँगै जनशक्ति व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको उनले बताए।

टेलिकमका अनुसार सामग्री जडानस्थलमा पुर्‍याउने, उच्च उचाइमा काम गर्न सक्ने प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने तथा आवश्यक स्थानीय सहयोग जुटाउने विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको छ।

जडानस्थलमा सबै आवश्यक सामग्री पुगेपछि करिब पाँच दिनभित्र सेवा सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ। यसअघि टेलिकमले साउन ३० गतेभित्र बडीमालिका क्षेत्रमा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो। तर प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र उपकरण ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिलाइ हुने भएको हो।

बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ। धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको उक्त क्षेत्रमा भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा नहुँदा स्थानीय, तीर्थयात्री तथा पर्यटकले सञ्चार सम्पर्कमा समस्या भोग्दै आएका थिए।

नेपाल टेलिकमले बडीमालिकामा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ। उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने योजनाअनुसार सेवा विस्तार गर्न लागिएको टेलिकमले जनाएको छ।

बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको टेलिकमले जनाएको छ। यसअघि डोल्पाको ल्हान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलामा पनि उच्च उचाइमा ४जी सेवा सञ्चालनमा ल्याइसकिएको छ।

दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै सरकारले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच बढाउने काम अघि बढाएको छ। टेलिकमका अनुसार देशभर करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ भने चालु आर्थिक वर्षमा ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार, क्षमता वृद्धि र गुणस्तर सुधारका लागि करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology