उपत्यकामा तार व्यवस्थापनले गति लियो, ट्यागिङ र फिनिसिङ अझै अधुरो

उपत्यकामा तार व्यवस्थापनले गति लियो, ट्यागिङ र फिनिसिङ अझै अधुरो

अभियानलाई प्रभावकारी बनाउन प्राधिकरणले जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो ।

  • कुराकानी

  • सोमवार, भदौ १, २०८३

  • 0
    SHARES
उपत्यकामा तार व्यवस्थापनले गति लियो, ट्यागिङ र फिनिसिङ अझै अधुरो

कुराकानी। काठमाडौँ उपत्यकाका प्रमुख सडक तथा शहरी क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानले गति लिए पनि काम अझै पूर्ण हुन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमनअनुसार अधिकांश प्राथमिकताप्राप्त रुटमा तार बन्डलिङ गरिएको भए पनि खुला तार हटाउने, केबल लूप व्यवस्थित गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र अन्तिम फिनिसिङको काम बाँकी छ ।

अव्यवस्थित तथा प्रयोगविहीन तारका कारण शहरी सौन्दर्यमा असर पर्नुका साथै आगलागी, दुर्घटना र सडक सुरक्षामा जोखिम बढेपछि सरकारले तार व्यवस्थापन अभियान अघि बढाएको हो । पहिलो चरणमा त्रिपुरेश्वर–कलंकी–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन प्राधिकरणले जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो । उपसमितिमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेलका प्रतिनिधि सहभागी छन् ।

प्राधिकरणले सेवा प्रदायकलाई आफ्ना तारमा पहिचान खुल्ने ट्याग अनिवार्य गर्न निर्देशन दिँदै प्रयोगविहीन तार हटाउने र बाँकी तारमा ट्याग लगाउने समयसीमा तोकेको थियो । अपेक्षित गतिमा काम अघि नबढेपछि प्रत्येक रुटमा ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर नियमित अनुगमन थालिएको थियो ।

यसबीच सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा असार ३१ र साउन १५ गते उच्चस्तरीय समीक्षा बैठक बसेको थियो । बैठकपछि सेवा प्रदायकबीच जिम्मेवारी पुनः बाँडफाँट गरी परिमार्जित कार्ययोजना लागू गरिएको प्राधिकरणले जनाएको छ ।

अनुगमनका क्रममा जडीबुटी क्षेत्रमा तार बन्डलिङ सम्पन्न भए पनि अन्तिम फिनिसिङ कमजोर देखिएको छ । सेवा प्रदायकको पहिचान खुल्ने ट्याग सीमित स्थानमा मात्रै राखिएको छ भने विभिन्न ठाउँमा ‘केबल लूप’ समेत देखिएका छन् ।

बानेश्वर क्षेत्रमा भने तुलनात्मक रूपमा राम्रो प्रगति भएको छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइए पनि केही स्थानमा ट्याग छुटेका वा च्यातिएका छन् । सामाखुसी क्षेत्रमा बन्डलिङ भए पनि लूप व्यवस्थापन, ट्यागिङ र फिनिसिङमा थप सुधार आवश्यक देखिएको छ ।

त्यस्तै, लाजिम्पाट–त्रिपुरेश्वर रुटमा अधिकांश तार बन्डलिङ गरिए पनि केही खुला तार बाँकी छन् । त्रिपुरेश्वर–कलंकी रुटमा भने अन्य क्षेत्रको तुलनामा राम्रो प्रगति भएको प्राधिकरणको निष्कर्ष छ । कीर्तिपुर क्षेत्रमा पनि अधिकांश तार बन्डलिङ गरिए पनि खुला तार र सीमित ट्यागिङका कारण काम पूर्ण हुन सकेको छैन ।

प्राधिकरणको अनुगमनमा सबै रुटमा देखिएको साझा समस्या ‘केबल लूप’ रहेको छ । सेवा विस्तार वा मर्मतका लागि अतिरिक्त केबल राखिए पनि त्यसलाई व्यवस्थित नगर्दा बन्डलिङपछि पनि पोलको दृश्य अव्यवस्थित देखिने गरेको छ ।

प्राधिकरणले अब तार बन्डलिङलाई मात्र प्रगतिको आधार नमान्ने जनाएको छ । प्रत्येक रुटको अन्तिम निरीक्षण गरी खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सबै तारमा ट्याग राख्ने र फिनिसिङ सुधार्नुपर्नेमा जोड दिइएको छ ।

दीर्घकालीन रूपमा समस्या समाधान गर्न साझा पूर्वाधार तथा भूमिगत युटिलिटी डक्ट निर्माण गर्नुपर्ने सुझावसमेत प्राधिकरणले दिएको छ । नयाँ तार थपिँदै जाने तर पुराना तथा प्रयोगविहीन तार समयमै नहटाउने प्रवृत्ति अन्त्य गर्न नियमित अनुगमन र सेवा प्रदायकको स्पष्ट जिम्मेवारीसहितको स्थायी प्रणाली आवश्यक रहेको प्राधिकरणको भनाइ छ ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology