कुराकानी। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा स्कार्पियो दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि सबै घाइतेको उद्धार गरी भीमफेदी अस्पताल लगिएको थियो।
घाइते हुनेमा मुख्य न्यायाधीश डाँगीसँगै उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू र दिदी रिता बडू रहेका छन्। उनीहरू एउटै परिवारका चार सदस्य हुन्। जीप चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी पनि घाइते भएका छन्।
घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य घाइतेलाई समेत थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।