शिक्षा ऐनमा शिक्षकको वृत्ति विकासलाई प्राथमिकता दिन सुझाव

शिक्षा ऐनमा शिक्षकको वृत्ति विकासलाई प्राथमिकता दिन सुझाव

प्रदेशस्तरबाट प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने मन्त्रालयको तयारी छ।

  • कुराकानी

  • मङ्लबार, भदौ २, २०८३

  • 0
    SHARES
शिक्षा ऐनमा शिक्षकको वृत्ति विकासलाई प्राथमिकता दिन सुझाव

कुराकानी। गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले आगामी शिक्षा ऐनमा शिक्षकको पेशागत तथा करियर विकाससँगै विद्यालय शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मंगलबार पोखरामा आयोजित छलफलमा सहभागीहरूले विद्यालय शिक्षामा देखिँदै आएका समस्या समाधानका लागि स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य कानुनी व्यवस्था आवश्यक रहेको बताए।

सहभागीहरूले शिक्षकको क्षमता अभिवृद्धि र पेशागत विकासलाई निरन्तरता दिनुपर्ने, शिक्षकको करियर विकासका अवसर सुनिश्चित गर्नुपर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धिलाई शिक्षा प्रणालीको केन्द्रमा राख्नुपर्ने सुझाव दिएका थिए।

त्यस्तै विद्यालय र समुदायबीचको सम्बन्ध बलियो बनाउँदै विद्यालयप्रति समुदायको अपनत्व र सहभागिता बढाउनुपर्नेमा पनि उनीहरूले जोड दिए। विगतमा देखिएका समस्या पुनः नदोहोरिने गरी दीर्घकालीन र नीतिगत समाधान शिक्षा ऐनमै समेट्नुपर्ने उनीहरूको भनाइ थियो।

पोखरास्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका अगुवाहरू सहभागी थिए।

कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटाले पनि आगामी शिक्षा ऐन तथा विद्यालय शिक्षासम्बन्धी विषयमा धारणा राखेका थिए।

मन्त्रालयले सातै प्रदेशमा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सुझाव संकलन गरिरहेको छ। प्रदेशस्तरबाट प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने मन्त्रालयको तयारी छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology